राजनीति

सुर्खेतमा थपिए १२ जना, बारामा दुई सैनिकसहित पाँचजना कोरोना संक्रमित

मंगलबार विहान कर्णालीको प्रदेश राजधानी सुर्खेतमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसै गरी बारामा दुई सैनिकसहित पाँचजनामा संक्रमणको पुष्टि भएको छ ।

समाचार अनुसार सुर्खेतमा संक्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनाराण तिवारीले जानकारी दिनुभयो । सङ्क्रमितहरुमा वीरेन्द्रनगर नगरपालिका–१, ३ र ६ वडाका सात पुरुष र एक महिला, भेरीगङ्गा नगरपालिका दुई पुरुष र सिम्ता गाउँपालिका–४ का सुर्खेतका दुई पुरुष रहेको उहाँले बताउनुभयो ।

भारतबाट आएका उनीहरुलाई मङ्गलबार सुर्खेतको बबई, सुब्बाकुना नाका र घण्टाघरको खुलामञ्चबाट स्वाब लिइ पिसीआर गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । १२ जना सुर्खेतमै थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २३ पुगेको स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ ।
यता कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भवावह बन्दै गएको र समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई जिम्मा दिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिमा सङ्क्रमण देखिएको हो ।

कर्णाली प्रदेश सरकारले पनि यसअघि नै भारतबाट आउने नेपालीलाई सीमानाकामै परीक्षण गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन नेपाल सरकार र केन्द्रीय विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको थियो । कर्णाली प्रदेश सरकारले २३ हजार कर्णालीवासी आउने अनुमान गरेको त्यो सङ्ख्या बढ्ने देखिएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिनुभएको छ ।

उता बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।

यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.