जल/वातावरण

नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२, एक हप्तामा दोब्बरले बढे संक्रमित

नेपालमा पछिल्लो समय दैनिक कोरोनाको संक्रमितको संख्या बढिरहेको छ । यसै क्रममा मंगलबार दिउँसोसम्म ९० जना संक्रमित थपिएर कुल संख्या ७ सय ७२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार मंगलबार महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्।

संक्रमितमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने १ सय ५५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

पछिल्लो एक हप्ताकोबीचमा नेपालमा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ । गत मंगलबार (जेठ ६ गते)सम्म कोरोना संक्रमितको संख्या ३ सय ९० रहेकोमा आज (जेठ १३ गते) त्यो संख्या ७ सय ७२ पुगेको छ ।

नेपालमा पहिलोपटक गत माघ ९ गते एकजना युवकमा संक्रमण पुष्टि भएको थियो । चीनबाट आएका ती युवकको स्वाब परीक्षण गर्न हङकङ पठाइएको थियो । त्यसपछि गत चैत १० गते फ्रान्सबाट आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा संक्रमण देखियो ।

यो नेपालमा दुई महिनापछि देखिएको दोस्रो केस थियो । त्यसपछि खाडी मुलुक र युवतीसँगै जहाजमा आएका केहीलाई संक्रमण देखियो ।

पछिल्लो समय भने भारतबाट आएकाहरूमा संक्रमण बढी देखिएको छ। अहिले पनि अधिकांश संक्रमितहरू भारतबाट आएको पाइएको छ । भारतसँग सीमा जोडिएका जिल्लाहरूमा संक्रमित संख्या बढी छ ।

सम्बन्धित खबर

Back to top button