जन सरोकार

स्वदेश फर्कने आश गर्दागर्दै नाकामै देह त्यागे गरमैताले

कोरोना भाइरस संक्रमणका कारण भारतमा जारी लकडाउनपछि स्वदेश फर्कन लागेको धनुषाको जटही नाकामा एक नेपाली युवाको मृत्यु भएको छ । भारतबाट आएका धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही नाकामा बुधबार बिहान मृत्यु भएको छ ।

गुरमैताले आफू अस्वस्थ भएपछि आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए । उनको फोन आएलगत्तै उनका भाइ धीरेन्द्रसहित परिवारका ४ जना राति नै जटही पुगेका थिए । तर आफूहरु पैदलै भए पनि दाजुलाई लिन जाने बताए पनि सीमापार जान नदिइएको वीरेन्द्रका भाइ धीरेन्द्रले बताएका छन् ।

वीरेन्द्र रोजगारी गर्न ४ महिनाअघि भारतको गुजरात गएका थिए । तर लकडाउनका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएपछि उनी आफ्नो घर आउन खोजेका थिए । परिवारका सदस्यहरुका अनुसार उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिँडेका थिए । बाटोमा उनले सुख्खा खानेकुरा मात्रै खाएको र कमजोरीले गर्दा बेहोस भएर ज्यान गएको परिवारजनको भनाइ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि विरेन्द्रको मृत्यु भएको पुष्टि गर्दै उनको शवलाई ल्याएर स्वाब संकलन गरिने र अन्य व्यवस्थापनको बिषयमा छलफल गर्ने बताउनुभएको छ । उनको मृत्यु भएपछि सीमामा भारततर्फ जम्मा भएकाहरु आक्रोशित हुँँदै नेपालतर्फ ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट ज १ त १२१३ नम्बरको एम्बुलेन्समा समेत क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाले सीमामा जम्मा भएकाहरुलाई ल्याउनका लागि गाडी पठाउने तयारी भइरहेको बताए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.