जन सरोकार

थुनुवाको मृत्युपछि धनुषामा तनाव, रुपन्देहीमा पुनः अर्को हत्या, ललितपुरमा शव फेला

इलाका प्रहरी कार्यालय सवैलाको थुनुवाकक्षमै एक जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएपछि स्थानीयवासी छानबिनको माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । थुुनामा रहेका धनुषा सवैला नगरपालिका–१२ का २२ वर्षीय शम्भु सदा मुसहर झुन्डिएको अवस्थामा मृत भेटिएको इप्रका सवैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले बताउनुभयो ।

“सवारी ज्यान कसुर मुद्दामा थुनामा रहेका मुसहर मंगलबार राति २ बजेतिर शौचालयमा झुन्डिएको अवस्थामा हामीले पायौँ”, प्रहरी निरीक्षक यादवले भन्नुभयो । थुनामै मुसहरको मृत्यु भएपछि घटना शङ्कास्पद रहेको भन्दै स्थानीयवासीले बरकुर्वामा सडक अवरुद्व गरी प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले प्रहरी भ्यानमा समेत तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ । स्थानीयवासीले प्रहरी चौकीमा बाहिरबाटै ढुङ्गामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।

उता रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका छन् ।

राति घरमै सुतिरहेका बेला बाबु रिमबहादुर कुमालले करीब १।३० बजे १६ वर्षीय सुदीपलाई बञ्चरो प्रहार गरी घाइते बनाएकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।

अभियुक्त रिमबहादुरलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य परीक्षणका लागि ल्याइएको छ । अभियुक्त ४८ वर्षीय रिमबहादुर अत्यधिक मादक पदार्थ सेवन गर्ने र सोही कारणले घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

टौखेलमा शव फेला

गोदावरी नगरपालिका वडा नं ३ टौखेल बस्ने ३८ वर्षीय पुरुषको मङ्गलबार राति शव फेला परेको छ । चन्द्रागिरि नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका अमित शाहीको गए राति हत्या भएको आशङ्का गरिएको छ ।

राति साढे १ बजेतिर भएको घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी प्रभाव बाडेगाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोको टोली घटनास्थलमा पुगेको थियो । आज बिहान करीब साढे ९ बजे शाहीको शव अनुसन्धानका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

मृतकका भाइ अमरले दाजुको हत्या भएको आशंका गरी हत्यारालाई खोजेर दण्ड गरिनुपर्ने माग गर्नुभएको छ । हत्या भएको उक्त स्थान मकैबारी रगतले लतपतिएको थियो ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.