राजनीति

चलचित्र क्षेत्रले अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई छाड्न हुन्न : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिसँग परिचित हुँदै अध्ययन, अनुसन्धान र सृजनात्मक पक्षलाई चलचित्र क्षेत्रले छाड्न नहुने बताउनुभएको छ ।

चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान कार्यक्रममा उहाँले नेपाली चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमासमेत योगदान पुर्याउन सक्ने भन्दै सबैले त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले हाम्रो गाउँठाउँ, पाखापखेरा र कुनाकन्दराका कथाव्यथालाई सुक्ष्म ढङ्गले पर्दामा प्रस्तुत गर्न सके अन्तरराष्ट्रिय चलचित्र महोत्सव र विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न सकिने बताउनुभयो ।

उहाँले चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभएर नागरिकमा जागरण, रुपान्तरण, चेतना, राष्ट्रप्रेमको भावना जगाउने र हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्ने माध्यम भएको बताउनुभयो । उहाँले हिमाल–पहाड–तराईको प्रकृति र सामाजिक जीवनलाई चलचित्रले देशभित्र मात्र होइन, विश्व मञ्चसम्म चिनाउन सक्ने भएकाले यो हाम्रो साझा पहिचान निर्माणको आधार पनि भएको स्पष्ट पार्नुभयो ।

राष्ट्रपति पौडेलले अहिलेको बदलिँदो परिवेशअनुरुपको नीति, कानुन, सुविधा र सहुलियतसहित संस्थागत सुधार गरी चलचित्र उद्योगलाई नयाँ उचाईँ दिन कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिनुभया ।

यसका लागि कलाकार मात्र नभएर चलचित्र उद्योगसँग सम्बन्धित सबै सरोकारवालाहरूको योगदानको उचित कदर गर्नुपर्दछ र यही क्षेत्रमा आत्मसम्मानसहित आफ्नो भविष्य सुरक्षित छ भन्ने महशुस गराउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “डिजिटल प्रविधिले चलचित्र निर्माणदेखि वितरणसम्मका काममा सहजता पनि ल्याएको छ । यसको प्रयोग गर्दा हाम्रो मौलिक कथा, मानवीय सृजनशीलता, सांस्कृतिक पहिचान र सर्जकको बौद्धिक अधिकार जोगाउनुपर्दछ भन्नेमा सचेत रहनुपर्दछ ।”

राष्ट्रपति पौडेलले चलचित्रका पर्दामा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथाहरू सम्मानजनक, संवेदनशील र यथार्थपरक रूपमा अटाऊन् भन्ने आफ्नो अपेक्षा रहेको स्पष्ट पार्नुभयो ।

सो अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.