सम्पादकीय

सरकार, संसद र दलहरु मौन- सुस्ताबासीको बहादुरी

नेपालमा नयाँ सरकार गठन भएसंगै नेपाली भूमि अतिक्रमणको मुद्दाले सिंगो देश हल्लाइरहेको छ । गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उभिएर “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि यसलाई भारतीय पक्षले नेपाल अतिक्रमण गर्ने अर्को सुनौलो अवसर माने ।

यसको पछिल्लो कदमका रुपमा पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेपछि सुस्ताबासीले “यो बिहार होइन” भन्दै लखेटे । सुस्ताबासीले यसअघि पनि पटकपटक भारतीय सुरक्षाकर्मीलाई लखेटेका छन् र यसक्रममा धेरैले ज्यान पनि गुमाइसकेका छन् ।

सुस्तामा भारतीय अतिक्रमणमा प्राकृतिक कारण पनि रहेको छ । नारायणी नदीले धार परिवर्तनन गर्दा नदीलाई सीमा मानेकै कारणा नेपाली भूमि भारतमा पर्न गएको छ ।

नेपाल र भारतबीचको झण्डै १८ सय किलोमिटर सीमा क्षेत्रमा ६ सय किलोमिटर नदी सीमा र १२ सय भूमि सीमा रहेका छन् । कालापानी र सुस्ता नदी सीमा हुन् । जुन समयमा नदीलाई सीमा मानियो अहिले नदी सो स्थानभन्दा धेरै वरबाट बग्न थालेको छ ।

सुस्तामा भारतले भूमि अतिक्रमण गर्नुको कारण पनि यही हो । तर सीमा कायम गर्दा नदी कहाँ थियो भन्ने अभिलेख प्रस्तुतै नगरी भारतको अभीष्टलाई मलजल गर्ने गरी सुस्ता र कालापानीका विषयमा नेपालसंग प्रामाणिक तथ्यांक वा नक्सा नभएको भन्दै भारतल दावी गर्दैआएको छ ।

नदीलाई सीमा मानेकै कारण सुस्ता खुम्चिदैछ । नदीलाई सीमा मान्नु र नदीले आफ्नो धार परिवर्तत गर्नु फरक कुरा हो । नदी जताजता पुग्छ सीमा त्यतै जाने अवश्य होइन । तर अहिले त्यही भैरहेको छ ।

नदी सर्दैमा त्यसैलाई आधार मानेर सीमा सार्ने काम दुनियाँमा कहीं पनि हुँदैन । तर बलियो र शक्तिशाली अनि विस्तारवादी नीति बोकेको भारतसंग सीमा जोडिएका मुलुकले मात्र यो पीडा भोगिरहेका छन् ।

भारतको तुलनामा कैयौं गुणा शक्तिशाली र ठूलो मुलुक चीनको कुनै मुलुकसंग सीमा लगायत अन्य विवाद छैन तर दक्षिण एसियामा भारतसंग सीमा जोडिएका मुलुकसंग भारतको समस्या नरहेको कुनै विषय नै छैन ।

नेपालका कतिपय सीमालाई नदीले कायम गरेको भए पनि सीमा कायम हुँदा नदी बहेको स्थान नै सीमाना हो तर भारतले नदीको धारसंगै आफ्नो सीमालाई फैलाउने गरेको छ । सुस्ता मात्र होइन पूर्वमा मेची नदीको सीमा पनि सोही अवस्थामा छ ।

भारतले सुस्तामा अतिक्रमण गर्न छोडेको छैन । कहिले नेपालीले लगाएको बाली फाँडेर आगो लगाइदिने कहिले नेपाली भूमिमा आएर कुटपिट तथा यातना दिने गरेका छन् । यसैको पछिल्लो कडीका रुपमा पछिल्लो हप्ता एसएसबीले गस्ती सुरु गरेपछि गत शुक्रबार सुस्ताबासीले उनीहरुलाई लखेटे ।

सुस्तामा संघर्ष गरिरहेका र भारतीय पक्षको निसाना बनिरहेका व्यक्तिहरु सुस्ता अतिक्रमण रोक्न सरकारलाई पटकपटक अुनरोध गरेका छन् । विगतमा सिंहदरबारको पश्चिम ढोकादेखि जिल्ला प्रशासनसंग गुहार माग्दा पनि सुस्ता बचाउनेतर्फ चासो नभएको उनीहरुको गुनासो छ ।

सुस्तामा भारतले अतिक्रमण गर्न थालेको २०३० सालदेखि हो । सुस्ताको पूरै क्षेत्र नेपाली भूमि नै हो । २०२२ सालमा राजा महेन्द्रबाट भूपू सैनिकहरुको निम्ति बसोबासको व्यवस्था मिलाउन सुस्ता क्षेत्र तोकिएको थियो । त्यस अनुरुप २०२४ सालदेखि किशोर गुरुङ्गको नेतृत्वमा सुस्तामा बसोबास सुरु भयो र एउटा पञ्चायतकै मान्यता पायो ।

२०२४, ०२५ र ०२६ सालसम्म यस पञ्चायतको प्रधानपञ्च पनि किशोर गुरुङ्ग नै थिए । त्यसपछि २०२८ सालमा चुनाव भयो र भक्तबहादुर प्रधानले प्रधानपञ्चमा जिते । उनको पहलमा २०२८ सालदेखि ०२९ सालसम्म यहाँका सम्पूर्ण जग्गाहरुको कित्ताकाट र नापी भयो र त्यहाँ बसोबास गर्नेलाई जग्गाधनी पूर्जा पनि वितरण गरियो ।

त्यतिबेला लगभग सात सय घरधुरीले लालपूर्जा पाएका थिए । २०३४ सालमा नारायणी नदीमा ठूलो बाढी आयो । सुस्ताको धेरै भूमि डुबानमा प¥यो र नदीले साविकको धार बदल्यो । त्यस्तो स्थितिमा उनीहरुलाई त्रिवेणीमा ल्याएर राखियो र २०३८ सालमा सुस्तालाई त्रिवेणीमा गाभेर एउटै पञ्चायत बनाउने काम भयो ।

त्यसपछि २०३९ सालको निर्वाचनमा उक्त गाउँ पञ्चायतमा टेकनारायण उपाध्याय प्रधानपञ्च भए । त्यतिबेला सुस्ताबासीलाई जनसंख्याको आधारमा त्रिवेणीमा जग्गा दिने काम भयो ।

ऐतिहासिक दस्तावेज अनुसार सुस्ताको जम्मा क्षेत्रफल २१ हजार हेक्टर हो । त्यसमध्ये १४ हजार हेक्टर भूमि भारतले कब्जा गरिसकेको बताइन्छ ।  अहिले नेपालको भागमा ७ हजार हेक्टर जमिन मात्र बाँकी छ । ऐतिहासिक नक्सा, अभिलेख, दस्तावेज, सुगौली सन्धि र विशेषज्ञहरुको भनाइ अनुसार सुस्ताको भूमि पूर्वमा भेडियारीदेखि धनैया, ढोङसोता र रहुवाघोलासम्म छ ।

सुस्ता अतिक्रमण हुनुमा भैंसालोटनमा बाँध निर्माण एउटा प्रमुख कारकतत्वको रुपमा रहेको छ । सो बाँध बनाउने क्रममा नारायणी नदीको पानी नेपाली भू–भागतिर डाइभर्ट गरिएको थियो । बाँध पूरा भएपछि नदीलाई साविककै बहावमा फर्काइयो ।

त्यसपछि ठूलो बाढी आउँदा बाँध बनाउँदाको डाइभर्सनको बाटो लिने गरेको छ । त्यसका कारण नेपालको अतिरिक्त भूमि कटान हुन्छ । यदि त्यतिबेला भारततर्फ बहाव डाइभर्सन गरेको भए, बाढी आउँदा उतैको भूमि कटान हुन्थ्यो । तर, त्यसो नभएपछि नेपालतर्फ बहाव आउने र त्यो कम भएपछि नदीले कटान गरेको क्षेत्र आफ्नो भनी भारतीयले दाबी गर्दैआएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.