मुलुकको सार्वजनिक ऋण २६ खर्ब ५४ अर्ब
नेपालको हालसम्मको तिर्न बाँकी कूल सार्वजनिक ऋण रू २६ खर्ब ५४ अर्ब ६८ करोड पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको सुरुमा कूल सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा गत जेठ मसान्तसम्ममा रू दुई खर्ब २० अर्ब ५८ करोड सरकारी ऋण थपिएको हो ।
गत जेठ मसान्तसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादनको ४३ दशमलव ४७ प्रतिशत हुन्छ ।
त्यस्तै, हालसम्म सरकारले तिर्न बाँकी ऋणमा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव शून्य छ र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ९४ प्रतिशत छ ।
गत जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार आन्तरिक ऋण रू १२ खर्ब ७२ अर्ब ५३ करोड र बाह्य ऋण रू १३ खर्ब ८२ अर्ब १२ करोड बराबर छ ।
सरकारले चालु आवमा रू पाँच खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । गत जेठ मसान्तसम्ममा रू चार खर्ब १४ अर्ब १९ करोड ऋण उठिसकेको छ । वार्षिक लक्ष्यको तुलनामा कूल सार्वजनिक ऋण प्राप्ति ७५ दशमलव ७२ प्रतिशत हुन्छ ।
सरकारीको ऋणको साँवाब्याज भुक्तानीका लागि पछिल्लो ११ महिनामा रू तीन खर्ब २९ अर्ब ६० करोड खर्च भएको छ । यस वर्ष सरकारले साँवा ब्याज तिर्न रू चार खर्ब दुई अर्ब ८५ करोड बजेट छुट्याएको थियो ।
गत जेठ मसान्तसम्ममा आन्तरिक ऋणको साँवा तिर्नका लागि रू दुई खर्ब २३ अर्ब ३५ करोड ९४ लाख र आन्तरिक ऋणको ब्याज तिर्नका लागि रू ५४ अर्ब ३७ करोड २५ लाख खर्च भएको छ ।
त्यस्तै, यही अवधिमा बाह्य ऋणको साँवा तिर्नका लागि रू ४३ अर्ब २९ करोड र बाह्य ऋणको ब्याज तिर्नका लागि रू आठ अर्ब ५७ करोड ७३ लाख बराबर खर्च भएको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया राख्नुहोस्