संसद पुनःस्थापना र देउवा प्रधानमन्त्री हुनेमा प्रचण्ड ढुक्क
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले यही असार २८ गते प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको फैसला गर्दै विघटन बदर गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

आज जनकपुरधाममा पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन जनकपुर पुग्नुभएका प्रचण्डले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने भन्दै सो विश्वास व्यक्त गर्नुभएो हो ।
उहाँले प्रतिनिधि सभा पुनर्स्थापना हुने र संविधानको मर्म, भावना तथा लोकतान्त्रिक मूल्य मान्यता कायम रहने बताउँदै भन्नुभयो देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ । अनि संसद पनि पुनर्स्थापना हुन्छ ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिएर ओली थप निरंकुश बन्न खोजेको आरोप लगाउँदै भन्नुभयो ‘संसद पुनर्स्थापना नभए संविधान तथा लोकतन्त्र मिचेपनि हुन्छ भन्ने नजीर स्थापित हुन्छ त्यस्तो कल्पनासम्म गर्न सक्दिनँ ।’
कार्यक्रममा अध्यक्ष प्रचण्डले यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । लामो समयदेखि क्यान्सरबाट पीडित धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरका यादव जनयुद्धको बेलादेखि नै माओवादीमा सक्रिय थिए ।
प्रतिक्रिया राख्नुहोस्