जन सरोकार

अहिले पनि १९.८६ प्रतिशतमा सङ्क्रमण

नेपालमा कोरोना सङ्क्रमण दर अहिले पनि उच्च रहेको छ । आइतबार पछिल्लो २४ घण्टाको विवरण अनुसार कुल परीक्षणमध्ये १९.८६ प्रतिशतको नतिजा पोजेटिभ देखिएको छ । नेपालमा अझै पाँच जनाको परीक्षण हुँदा १ जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार थप १,८३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ९,२१८ जना पिसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो

यसै अवधिमा १,५३३ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन् । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,३८२ पुगेको छ ।

यसै गरी बितेको २४ घण्टामा कोरोना सङ्क्रमणबाट २० जनाको मृत्यु भएको छ । अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ५,०३२ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन् ।

अहिले कुल २६,१७३ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,७०२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । अहिले देशभरिका नौ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने २५ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

आइतवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३९१ जना काठमाण्डू उपत्यकामा रहेका छन् । सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५९३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७५ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.