राजनीति

कांग्रेस नेता निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित

पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको छ । अटल भारत फाउन्डेसनले आइतबार साँझ भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा उहाँ ‘अटल मिथिला सम्मान’ बाट सम्मानित हुनुभएको उहाँको सचिवालयले जनाएको छ ।

कांग्रेस नेता निधि

फाउन्डेसनले कला, सांस्कृतिक, राजनीतिक, सामाजिक लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष ‘अटल मिथिला सम्मान’ ले सम्मानित गर्दै आएको छ ।

सन् २००३ मा भारतका तत्कालीन प्रधानमन्त्री अटलविहारी बाजपेयीले मैथिली भाषालाई भारतको संविधानको आठौँ अनुसूचीमा समावेश गराउनुभएको थियो । उहाँको निधनपछि गठन भएको फाउन्डेसनले सामाजिक, राजनीतिक लगायतका क्षेत्रमा योगदान पु¥याउने मिथिला क्षेत्रका व्यक्तित्वलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । यसपटक नेपालबाट कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य नेता निधि सम्मानित हुनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस पूर्वउपसभापति निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुभयो । “विभिन्न कालखण्डमा नेपालमा भएका राजनीतिक आन्दोलनमा भारतले हामीलाई सहयोग गरेको छ”, नेता निधिले भन्नुभयो, “भारतको स्वतन्त्रता आन्दोलनमा पनि बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधि लगायतका नेताहरूले सहयोग गर्नुभएको थियो, जेलनेल जानु भएको थियो ।”

उहाँले नेपाल–भारतबीच वर्षौँदेखिको सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने उल्लेख गर्नुभयो । “नेपाल र भारत बीचको सम्बन्ध वर्षौँ पुरानो हो । दुवै देशबीच सांस्कृति, राजनीतिक लगायतको सम्बन्ध रहेको छ । आगामी दिनमा पनि कायम रहनेछ”, उहाँले भन्नुभयो । दुवै देशको विकास र समृद्धिका लागि परस्पर सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । “आपसी सहयोग दुवै देशको विकास र समृद्धिका लागि आवश्यक छ”, नेता निधिले भन्नुभयो, “दुवै देशबीच पारस्परिक सहयोग जरुरी छ ।”

कार्यक्रममा राज्यसभाका उपसभापति हरिवंश, भारत सरकारका मन्त्री अनुराग ठाकुर, राज्यसभाका पूर्वसदस्य एवं भारतीय जनता पार्टीका नेता प्रभात झा, पूर्वमन्त्री सिपी ठाकुर, बलिउडका गायक कुमार सानु, गायिका अनुराधा पौडवाल, अभिनेता शेखर सुमन लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.