राजनीति

जनतामा छाएको निराशा मेटाउन सरकार र प्रतिपक्ष दलहरूले उत्साह भर्नुपर्छ

प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै डा. सिंहले जनता र लोकतन्त्र रहेमात्रै मुलुक रहन्छ भन्दै सो कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले देखिएको निराशा र नैराश्यता चिर्नका लागि सत्तापक्ष र प्रतिपक्षहरू एकजुट भएर राष्ट्रिय निर्माणमा अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।” सांसद सिंहले पछिल्लो हप्ता आत्मदाहको प्रयास गरेर मृत्युवरण गरेका तीनै जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

सांसद खडकबहादुर बुढाले अविरल वर्षासँगै यही असार २८ गते आएको पहिरोले घर पुरिएर भेरी नगरपालिकाका जयशीला शाहको मृत्यु भएकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद बुढाले भूकम्प प्रभावित जनताले कहिलेसम्म यस्तो खालको घटनामा ज्यान गुमाउनुपर्ने हो भनी सरकारसँग जवाफ माग गर्नुभयो ।

सांसद नरेन्द्रकुमार केरुङ वर्षायाम सुरु भएसँगै इलाम, पाँचथर र ताप्लेजुङमा पेट्रोलियम पदार्थसहित एलपिजी ग्यासलगायतको चरम अभाव भई सर्वसाधारणको जनजीवन प्रभावित भएको विषयलाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले मेची राजमार्गअन्र्तगतको राजदुवाली सडकखण्डको नियमित मर्मतसम्भार नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेकाले मर्मतसम्भारको काम अघि बढाउन अनुरोध गर्नुभयो ।

सांसद दीपककुमार साहले दैनिक १२ देखि १८ घण्टासम्म विद्युत्को आपूर्ति नहुँदा सुनसरीका जनताले सास्ती व्यहोर्नुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्युत्को नियमित मर्मतसम्भारका लागि नेपाल सरकारसँग माग गर्नुभयो ।

सांसद करिश्मा कठरियाले डोटीको सायाल गाउँपालिकामा पहिरोका कारण जनजीवन अस्तव्यवस्थत भएको तथा उद्धारकार्य जारी रहे पनि प्रकोपको जोखिम उच्च रहेको उल्लेख गर्दै प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकषर्ण गर्नुभयो ।

सांसद प्रेमबहादुर बयकले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि अनुरोध गर्दै अविरल वर्षाका कारण कालीकोट, जाजरकोट, कैलालीलगायतका जिल्ला बढी प्रभावित भएकाले पीडित पक्षलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद ऐनबहादुर महरले प्राकृतिक प्रकोपद्वारा उत्पन्न हुने विपद् जोखिम न्यूनीकरणका पक्षमा सरकारले ल्याएको भनिएको कार्ययोजना प्रस्तुत गर्न माग गर्नुभयो ।

सांसद प्रमिलाकुमारी गच्छदारले कीर्तिपुरको ‘होल्डिङ सेन्टर’मा बसेका सुकुमवासीको व्यवस्थापन गर्न माग राख्नुभयो । साथै, उहाँले प्रहरीद्वारा कुटपिट गरिएको माजिद अन्सारीको न्यायका लागि राज्यले जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै, सांसद गङ्गादेवी श्रेष्ठले विद्युत् अवरोधबाट जनताले भोगेका समस्या उजागर गर्दै विद्युत् अभावबाट पीडित जनताका पक्षमा कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो ।

सांसद शम्भुप्रसाद यादवले स्थानीय तहमा मापदण्डविपरीत खनेर अलपत्र छोडिएका सडकका खाल्डाखुल्डीले विपद् निम्त्याएको बताउनुभयो । उहाँले सिराहामा तीन बालबालिका यस्तै सडकको खाल्डाखुल्डीमा भरिएको पानीमा डुबेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानार्कषण गराउनुभयो ।

सांसद श्रीराम न्यौपानेले देशको तीव्र विकासका लागि आगामी आर्थिक वर्षमा ३२० कार्यदिन र चौबिसै घन्टा बहुसिफ्टको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्नुभयो ।

सांसद निनुकुमारी कर्णले मधेसी भएकै कारणले अभिनेत्री काजल कर्णमाथि विभेद भएको उल्लेख गर्दै त्यस घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.