साउने संक्रान्ति र लुतो फाल्ने परम्परा : वैज्ञानिक तथ्य र मानव जीवनमा महत्व
यादब देवकोटा
आज साउन १ गते बिहिबार हरेक वर्ष जस्तै विहान नुवाई धुवाई गरी कर्कट सुनेर साँझ घरघरबाट लुतो फाल्ने गरिन्छ । समाज स्वच्छ, स्वस्थ स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता अनुरुप लुतो अर्थात् रोगहरुको प्रतीकका रुपमा लुतोलाई घरबाट टाढा मिल्काउने यो पर्वको तात्विक अर्थ छ ।
प्रचलनअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी बलिरहेको अगुल्टो घरको चारैतिर घुमाएर फ्याँक्ने गरिन्छ ।
लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यसो गर्दा घर वरिपरी भएका रोगप्रसारक किटाणुहरु नास हुन्छ । यी आवाजहरुले किटाणु तथा किरा फट्यांग्रा भाग्ने गर्दछन् । अहिले मुलुकमा भित्रिएका सलह भगाउन शंख फुक्ने र थाल ठटाउने गर्नुको कारण पनि यही हो ।
जेजति सर्दामबाट लुतो फालिन्छ ती सबै औषधिय वनस्पति भएकाले यसलाई एउटा परम्परा मात्र नमानेर वैज्ञानिक दृष्टिले पनि अति महत्वपूर्ण छ भन्ने मान्यता अहिले स्थापित भैसकेको छ ।
यति मात्र हैन साउने संक्रान्ति मनाउने अर्को प्रमुख कारण आराम र आनन्द पनि हो । असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।
महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व छ ।
साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन मानिन्छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्ने गर्दथ्यो । तर यस वर्ष कोरोना भाइरस संक्रमणका कारण शिवालयहरु बन्द छन् । साउन महिनाको सोमबार देशभरकै वातावरण मनोरम हुनेछ । त्यस्तै बोलबमको रौनक वेग्लै हुन्छ । यसमा पनि रोक लगाइएको छ ।
साउन महिनाले चाडहरूलाई भित्र्याउछ र स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यही दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दू धर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।
ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्तिं) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलार्द्धबाट दक्षिणि गोलार्थ तर्फ प्रवेश गर्ने भएकोले दिनपछि छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।
सृष्टि संरचनामा प्रकृतिलाई अन्तरिक्षाका ग्रहादीको पनि साथ र भूमिका हुन्छ भन्ने मान्यता राख्ने पूर्वीय शास्त्रीय मान्यता रहेको र यसैको आधारमा गणित चलेको हो । धार्मिक मान्यता र गणितीय हिसावबाट तिथि, बार, महिना, मसान्ति, संक्रान्ति, औंसी, पूर्णे लगायत जीवनशैलीमा महत्व राख्ने चाडपर्वहरुकै निरन्तरता हो साउने संक्रान्ति ।
हाम्रा परम्पराहरु कुनै पनि हिसाबले अवैज्ञानिक र अव्यवहारिक छैन भन्ने कुरा त आधुनिक कालमा आएर प्रमाणित नै भैसकेको छ । जस्तो कि हामी तुलसी घरको मूल ढोेकानेर रोपेर हरेक दिन पूजा गर्छौं यसको कारण अहिले आएर स्पष्ट भएको छ कि तुलसी औषधिहरुको राजा हो ।
त्यस्तै गाईको गहुँत घरमा छर्कने चलनलाई अन्धविश्वास भनियो । कालान्तरमा गहुँतमा कति गुण रहेछ भन्ने प्रमाणित भयो । तसर्थ हाम्रा सामाजिक पर्वहरु गुरु पूर्णिमा, मातातीर्थ औंसी, भाइ तिहार, माघे संक्रान्ति, सम्वतसर पडेवा, साउने संक्रान्ति, गंगादशहरा, नागपञ्चमी लगायतका चाडपर्व आफैंममा अति महत्वपूर्ण छन् ।
यी सबै जीवन र जगतको सुरक्षा र स्वचालनका लागि बसाईका नियम हुन् । एक किसिमले भन्नुपर्दा कानुन नै हो । आज यिनै नियमको पालना नगर्दा विश्वमा विपत्ति बढेको छ । प्रकृतिलाई सन्तुलनमा राख्न र मानवसमाजलाई निरोगी र सक्रिय बनाइराख्न वेदमा उल्लेख यस्ता विधिविधानहरुलाई दुत्कारेर यान्त्रिकृत बनेको मानवले आज जुन संकट भोग्दैगएको छ यसको कारण यही हो ।
वैदिक शास्त्रले मानव जीवनलाई सक्रिय र सफल बनाउन खान–पान, रहन–सहन, आचार–विचार र सांस्कृतिक सवै पक्षलाई समेटेर विधान नै बनाइदिएको थियो र यसलाई पुस्ता पुस्तामा हस्तान्तरण हुँदै आएकोमा आजभोलि यो प्रथाा हटेर आयातित शिक्षाले सांस्कृतिक अतिक्रमण सुरु भएको छ । अर्थात् पीढी शिक्षा पुस्ता–दरपुस्ता चल्दैआएको पूर्वीय जीवनशैलीको अभिन्न अंग ध्वस्त भएको छ ।
प्रतिक्रिया राख्नुहोस्