‘मास्टर्नी’को प्रचार गीत हटाइयो, प्रियंका कार्कीद्वारा सार्वजनिक माफी
नायिका प्रियंका कार्कीद्वारा निर्मित पहिलोे चलचित्र ‘मास्टर्नी’ को प्रचारप्रसारका लागि सार्वजनिक गरिएको गीत युटुबबाट हटाइएको छ भने यसमा संलग्नहरुले सार्वजनिक माफी मागेका छन् ।
गीत सार्वजनिक भएलगत्तै यसले अश्लीलता फैलाएको, शिक्षक पेसाको गरिमामाथि आँच पुर्याएको तथा शिक्षण पेशालाई बदनाम गरेको आरोप लागेपछि निर्माण पक्ष विवादमा परेको थियो।
विवाद चर्किएसँगै नेपाल शिक्षक महासंघले गीतप्रति कडा आपत्ति जनाउँदै विरोध गरेको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा समेत गीत हटाउन र आवश्यक कारबाही गर्न माग गर्दै उजुरी परेको थियो।
गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त प्रचारात्मक गीतमा प्रयोग गरिएका शब्द र दृश्यले शिक्षक–शिक्षिकाको चरित्रमाथि प्रहार गरेको, अश्लीलता प्रवर्द्धन गरेको र समाजमा सम्मानित शिक्षण पेसालाई गलत ढंगले चित्रण गरेको भन्दै सामाजिक सञ्जालदेखि विभिन्न शिक्षक संगठनसम्म व्यापक आलोचना भएको थियो।
नेपाल शिक्षक महासंघले गीत तत्काल हटाउन, सम्बन्धित पक्षसँग सार्वजनिक क्षमायाचना गराउन र भविष्यमा यस्ता सामग्री नदोहोरिने सुनिश्चितता गर्न माग गरेको थियो।
विवाद बढ्दै गएपछि चलचित्रकी निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले सार्वजनिक वक्तव्य जारी गर्दै शिक्षक समुदायसँग क्षमायाचना गरेकी छन्। उनले विवादित गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई केवल प्रचारप्रसारका लागि आपसी समन्वयमा तयार पारिएको सामग्री रहेको स्पष्ट पारेकी छन्।
कार्कीले गीतमा प्रयोग भएका केही शब्द र दृश्यले शिक्षक पेसाको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गर्दै कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सम्मानित पेसाप्रति कुनै प्रकारको नकारात्मक प्रभाव पार्ने उद्देश्य नरहेको बताएकी छन्। यद्यपि प्रस्तुतिका कारण शिक्षक तथा दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै उनले व्यक्तिगत तथा सम्पूर्ण निर्माण टोलीका तर्फबाट क्षमायाचना गरेकी छन्।
उनले पहिलोपटक चलचित्र निर्माणको यात्रामा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासमेत नगरेको उल्लेख गर्दै यस घटनालाई भविष्यका लागि महत्त्वपूर्ण पाठका रूपमा लिएको बताएकी छन्। साथै नेपाल शिक्षक महासंघ, सम्पूर्ण शिक्षक–शिक्षिका तथा आहत दर्शकहरूप्रति सम्मान व्यक्त गर्दै पुनः माफी मागेकी छन्।
निर्माण पक्षले विवादलाई मध्यनजर गर्दै दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलबाट उक्त प्रचार गीत स्थायी रूपमा हटाइसकेको जनाएको छ। साथै, आफ्ना सबै सामाजिक सञ्जालबाट पनि गीतसँग सम्बन्धित सामग्री हटाइएको जानकारी दिँदै आगामी दिनमा सिर्जना र विषयवस्तु छनोटमा अझ संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गरेको छ।
यस घटनाले मनोरञ्जन सामग्री निर्माण गर्दा अभिव्यक्ति स्वतन्त्रता र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्नुपर्ने बहसलाई फेरि एकपटक सतहमा ल्याएको छ। विशेषगरी समाजमा उच्च सम्मानित शिक्षण पेसाको चित्रण गर्दा संवेदनशीलता अपनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ।
प्रियंकाको माफीनामा
आदरणीय दर्शकवृन्द, शुभचिन्तक तथा सम्पूर्ण नेपाली जनमानसमा नमस्कार, म प्रियंका कार्की।
पछिल्लो समय मेरो निर्माण तथा अभिनय रहेको चलचित्र ‘मास्टर्नी’ को प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवाद, प्रतिक्रिया र चासोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। गायक दुर्गेश थापाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई, विशुद्ध प्रचारप्रसारको उद्देश्यले आपसी समन्वयमा तयार पारिएको थियो। उक्त गीत चलचित्रको कथावस्तुमा कतै पनि समावेश गरिएको छैन।
उक्त गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित ‘शिक्षक-शिक्षिका’ पेसा र यससँग जोडिएका आदरणीय व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भनी आएका गुनासाहरूलाई मैले अत्यन्तै गम्भीरतापूर्वक लिएकी छु। कला र मनोरञ्जन पस्कने क्रममा समाजको सबैभन्दा सम्मानित पेसा र मार्गदर्शक व्यक्तित्वहरूमाथि कुनै पनि प्रकारको नकारात्मक असर परोस् भन्ने मेरो वा मेरो टिमको मनसाय कदापि थिएन। यद्यपि, हाम्रो प्रस्तुतिले अन्जानमै तपाईंहरूको भावनामा पर्न गएको चोटप्रति म व्यक्तिगत रूपमा र मेरो सम्पूर्ण टिमका तर्फबाट गल्ती महसुस गर्दै हृदयदेखि नै क्षमायाचना गर्दछु।
मैले पहिलोपटक चलचित्र निर्माणको यात्रा थालनी गर्दा कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्याउने कल्पनासम्म गरेकी थिइनँ र भविष्यमा पनि गर्नेछैन। अहिले सिर्जना भएको यस परिस्थितिलाई मैले गल्ती सुधार्ने महत्त्वपूर्ण पाठका रूपमा लिएकी छु। सम्पूर्ण आदरणीय गुरु-गुरुआमा, नेपाल शिक्षक महासंघ तथा यस घटनाबाट आहत हुनुभएका सम्पूर्ण दर्शकहरूप्रति उच्च सम्मानसहित नतमस्तक भई माफी चाहन्छु।
यसै गाम्भीर्यतालाई मनन गर्दै, हामीले उक्त गीत ‘दुर्गेश थापा’ युट्युब च्यानलबाट आधिकारिक रूपमा सधैँका लागि हटाइसकेका छौँ। साथै, मेरा सम्पूर्ण सामाजिक सञ्जालका प्लेटफर्महरूबाट समेत उक्त गीतका अंशहरू पूर्ण रूपमा हटाइसकिएको जानकारी गराउन चाहन्छु। तपाईंहरूले दिनुभएका सल्लाह, सुझाव र आलोचनालाई मैले सकारात्मक रूपमा ग्रहण गरेकी छु। आगामी दिनहरूमा आफ्ना सिर्जना र विषयवस्तु छनौटमा अझ बढी संवेदनशील, जिम्मेवार र सचेत रहने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु। मेरो कलाकारिता यात्राको सुरुवातदेखि आजसम्म तपाईंहरूले दिनुभएको माया, साथ र सहयोगप्रति म सदैव आभारी छु र आगामी दिनमा पनि यस्तै निरन्तर मार्गदर्शनको अपेक्षा गर्दछु।
पुनः सम्पूर्ण शिक्षक-शिक्षिकाहरू र आदरणीय दर्शकहरूमा हार्दिक क्षमायाचना व्यक्त गर्दछु।
धन्यवाद।
तपाईंहरूकै,
प्रियंका कार्की




प्रतिक्रिया राख्नुहोस्