जापानबिशेष

नेपाल फेस्टिवल जापान भव्य उद्घाटन, नेपाल–जापान सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

जापानमा नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित नेपाल फेस्टिवल जापान २०२६ भव्य रूपमा उद्घाटन गरिएको छ।

टोकियोको ओदाइबा पार्कमा आयोजित तीनदिने फेस्टिवलमा हजारौं नेपाली, जापानी नागरिक तथा विभिन्न देशका आगन्तुकको उल्लेख्य सहभागिता रहेको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जापानले नेपालको आर्थिक, सामाजिक, शैक्षिक तथा पूर्वाधार विकासमा निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति नेपाली जनताको तर्फबाट कृतज्ञता व्यक्त गर्नुभयो।

उहाँले नेपाल–जापान सम्बन्ध आपसी विश्वास, मित्रता र सहकार्यमा आधारित रहेको उल्लेख गर्दै जापान सरकारद्वारा सञ्चालित विकास परियोजनाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो।

नेपालको वर्तमान राजनीतिक नेतृत्वप्रति कुनै शंका वा अन्योल नराख्न आग्रह गर्दै उहाँले नेपाल सरकार जापान सरकारका सहयोगमा सञ्चालन भएका सबै परियोजनाको सुरक्षा, संरक्षण र प्रभावकारी कार्यान्वयनमा दृढ रहेको स्पष्ट पार्नुभयो।

सांसद सुनारले आफू सत्तापक्षको प्रतिनिधिका रूपमा नेपाल जापान र जापानी नागरिकप्रति सधैं खुला र सकारात्मक रहेको उल्लेख गर्दै दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपालले जापानी लगानी, पर्यटन तथा विकास साझेदारीलाई सदैव स्वागत गर्ने पनि उहाँको भनाइ थियो।

विदेशमा रहेका नेपाली समुदायको योगदानको प्रशंसा गर्दै उहाँले गैरआवासीय नेपाली (एनआरएन) हरूले स्वदेशमा सम्मान नपाउने हो कि भन्ने आशंका राख्न नपर्ने बताउनुभयो।

विदेशमा आर्जन गरेको सीप, अनुभव र पूँजी नेपालको समृद्धिका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारले प्रवासी नेपालीको सम्मान र योगदानलाई उच्च प्राथमिकतामा राख्ने विश्वास व्यक्त गर्नुभयो।

सुनारले आफू जापान आउनुअघि प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेस्टिवलका विषयमा जानकारी गराएको उल्लेख गर्दै उहाँहरूका तर्फबाट जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा फेस्टिवलका आयोजकलाई शुभकामना र बधाई सन्देश प्राप्त भएको जानकारी दिनुभयो।

भाषणका क्रममा उहाँले युवापुस्ताप्रतिको विश्वास व्यक्त गर्दै, “हामी उमेरले युवा देखिए पनि काममा परिपक्व छौँ,” भन्नुभयो। भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति दोहोर्‍याउँदै उहाँले नेपाली जनताले आफ्नो नेतृत्वबाट घूसखोरीको आरोप सुन्न नपर्ने विश्वास व्यक्त गर्नुभयो।

“हामीले जुस खाएको कुरा आउला, तर घूस खाएको कुरा सुन्न नपरोस्,” भन्ने उहाँको अभिव्यक्तिले कार्यक्रममा सहभागीहरूबाट ताली पाएको थियो।

यस वर्षको नेपाल फेस्टिवल जापानमा नेपाली कला, संस्कृति, भाषा र पर्यटनको प्रवर्द्धनसँगै नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, जनस्तरको सम्बन्ध र आर्थिक सहकार्यलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

फेस्टिवल अवधिभर नेपाली सांस्कृतिक कार्यक्रम, पर्यटन प्रवर्द्धन, व्यापारिक स्टल, नेपाली खानाका परिकार तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत जापानी नागरिकलाई नेपालको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदासँग परिचित गराइने कार्यक्रम रहेको छ।

नेपालको सांस्कृतिक विविधता, पर्यटन सम्भावना र मौलिक पहिचानलाई जापानी समाजमाझ परिचित गराउँदै जापानी नागरिकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने लक्ष्यका साथ आयोजित फेस्टिवलमा नेपाली लोक तथा आधुनिक सांगीतिक प्रस्तुति, विभिन्न जातजातिका सांस्कृतिक नृत्य, हस्तकलाका सामग्री, नेपाली परिकार तथा पर्यटन प्रवर्द्धनसम्बन्धी प्रदर्शनी राखिएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.