शक्ति संघर्षमा प्रचण्डको 'यू टर्न' : अब प्रधानमन्त्री फेर्ने हैन महाधिवेशन गर्ने
लामो समयदेखि मडारिएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्षका मुख्य नायक अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पुरानो अडान छाड्नुभएको छ । उहाँले अब आफूले आलोपालो प्रधानमन्त्रीको कुरा छाडेको घोषणा गर्दै छिटो महाधिवेशन गरेर समस्याको निकास दिनुपर्ने बताउनुभएको छ
एक साताभन्दा बढी समयेदेखि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको लामो संवादपछि पार्टीको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो । सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीको प्रस्तावपछि अध्यक्ष प्रचण्डले सहमति जनाउँदै पार्टीलाई यही प्रस्तावबाट निकास दिन सकिने शनिबारको सचिवालय बैठकमा बताउनुभएको हो ।
यस्तो छ अध्यक्ष प्रचण्डको भनाई जस्ताको तस्तै
“पार्टीभित्र निकै समस्या देखिए। यसले कता–कता पार्टी एकता नै भत्किने हो कि पार्टी एकताको रक्षा पनि नहुने हो कि भन्ने खालका समस्याहरु पनि देखिए। हाम्रोसामू यो एकता प्रक्रियालाई जोगाउनु पर्ने कार्यभार छ। पार्टीलाई ट्य्राकमा पनि लैजानु छ। आजको छलफलमा प्रधानमन्त्रीले अब महाधिवशेन छिटो गरेर जाऔं भननुभयो, ठिक छ, अव महाधिवशेनवाटै जाऔं, समस्याको हल त्यँहीबाट हुन्छ ।”
“यसवीचमा मैले मंसिर ४ को सहमति कार्यान्वयनमा नआएपछि पार्टी एकताका वेलाको जेठ २ को सहमतिको कुरा गरेको थिएँ। आलोपालो प्रधानमन्त्रीकै विषय उठाएको थिएँ। जुन सम्झौताले समस्या ल्यायो, त्यही शुरुको सहमति कार्यान्वयन गरौं भन्ने मेरो कुरा थियो। तर अव धेरै भयो, हामी अल्झेर, विवाद गरेर वस्नु ठिक हुन्न। म आलोपालो प्रधानमन्त्रीको कुरा छोडिदिन्छु। प्रधानमन्त्रीले छिटो महाधिवशेन गरौं भन्नुभयो, छिटो महाधिवशेन गरेरै जाऔं।”
प्रतिक्रिया राख्नुहोस्