अर्थ

सुनको मूल्य प्रतितोला ९४ हजार पुग्यो, कारोवार शून्य

नेपाली बजारमा बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० पुगेको छ ।

मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ७०० र तेजाबी सुन प्रतितोला रु ९२ हजार २६० मा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु ९५ ले बढेर एक हजार १३५ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ८६८/४५ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताउनुभयो ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार शून्यमा झरेको महासङ्घले जनाएको छ । “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो”, उहाँले भन्नुभयो । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.