जन सरोकार

निरजबहादुर शाही र पद्युम्नकुमार कार्की एआइजीमा बढुवा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनुभएका दुई प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा साउन १२ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार डिआइजीबाट एआइजी पदमा पदोन्नति हुनुभएका निरजबहादुर शाही र पद्युम्नकुमार कार्कीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभयो ।

साथै दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी उपरीक्षकहरुमा पशुपति कुमार राय र श्याम कुमार मण्डल रहनुभएको छ । नेपाल सरकार सचिवस्तरको सोही मितिको निर्णय अनुसार उहाँहरु नेपाल प्रहरीको सूचना प्रविधितर्फको प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षकमा पदोन्नति हुनुभएको हो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पश्चात प्रहरी अधिकृतहरुबाट आ-आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको बृहत्तर हितका लागि सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सामूहिक नेतृत्व सदैव संगठनको हितमा लाभकारी हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति पश्चात नेतृत्व तह थप बलियो भएको बताउनुभयो । आगामी दिनमा संगठनको हितको लागि समेत नेतृत्व तह अत्यन्तै प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले आफुहरु पदोन्नति पश्चात प्राप्त जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहेको बताउनुभयो । संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्तव्यनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाईमा लैजान मन, वचन र कर्मले कटिबद्ध रही काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

Back to top button