अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपलगायत फिफाका प्रमुख प्रतियोगिताको व्यावसायिक व्यवस्थापनका लागि निजी सहायक कम्पनी स्थापना गर्ने प्रस्तावलाई विश्व फुटबलको विकासलाई तीव्र गति दिने ‘सुनौलो अवसर’ भएको बताउनुभएको छ। यद्यपि, उहाँले यो सदस्य राष्ट्रहरूका लागि अनिवार्य नभई वैकल्पिक प्रस्ताव मात्र भएको स्पष्ट पार्नुभएको छ।
फिफाले आफ्नो व्यावसायिक संरचनामा परिवर्तन ल्याउने विवादास्पद योजना सार्वजनिक गरेपछि विश्व फुटबल जगतमा तीव्र आलोचना भइरहेका बेला इन्फान्टिनोले भिडियो सन्देशमार्फत उक्त प्रस्तावको बचाउ गर्नुभएको हो।
उहाँका अनुसार विश्व फुटबलबाट सिर्जना हुने ठूलो आर्थिक मूल्यको पर्याप्त हिस्सा अझै पनि फुटबल विकासका लागि आवश्यक पर्ने मुलुक र संस्थासम्म पुग्न सकेको छैन।
फिफाले मंगलबार सार्वजनिक गरेको योजनाअनुसार ‘फिफा फरवार्ड इन्टरप्राइज (एफएफई)’ नामक नयाँ निजी सहायक कम्पनी स्थापना गरिनेछ।
फिफाले यस कम्पनीमा बहुमत स्वामित्व कायम राख्नेछ भने अल्पमत हिस्सेदारी दीर्घकालीन लगानीकर्तालाई बिक्री गरेर यसै वर्ष करिब ४.२ अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखिएको छ।
सदस्य राष्ट्रलाई ४ करोड डलर दिने प्रस्ताव
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार इन्फान्टिनोले फिफाका २११ सदस्य राष्ट्रलाई पत्र पठाउँदै यो योजनालाई समर्थन गरेमा प्रत्येक सदस्य संघले ४ करोड अमेरिकी डलर प्राप्त गर्ने जानकारी गराउनुभएको छ। तर त्यसका लागि आगामी सेप्टेम्बर १९ भित्र प्रस्तावमा सहमति जनाउनुपर्ने उल्लेख गरिएको छ।
इन्फान्टिनोले भिडियो सन्देशमा भन्नुभयो, “एफएफई कुनै बाध्यकारी व्यवस्था होइन। यो लोकतान्त्रिक परामर्श प्रक्रियाअन्तर्गत ल्याइएको प्रस्ताव हो। यसलाई स्वीकार गर्ने वा नगर्ने निर्णय सदस्य राष्ट्रहरूको हातमा छ। यो विश्व फुटबलको विकासलाई नयाँ उचाइमा पुर्याउने सुनौलो अवसर हो।”
फुटबलको शासन प्रणालीमा असर नपर्ने दाबी
इन्फान्टिनोले प्रस्तावको उद्देश्य फिफाले अहिलेसम्म उपयोग गर्न नसकेको व्यावसायिक सम्भावनालाई सदुपयोग गर्नु रहेको बताउनुभयो। उहाँका अनुसार यसका लागि खेल सञ्चालनभन्दा फरक प्रकारको व्यावसायिक विशेषज्ञता आवश्यक पर्नेछ।
उहाँले भन्नुभयो, “यस कम्पनीले फिफाका स्वामित्वमा रहेका प्रतियोगिता, प्रायोजन, प्रसारण अधिकार, लाइसेन्सिङ तथा नयाँ व्यावसायिक परियोजनाको व्यवस्थापन गर्नेछ।
तर फुटबलको शासन प्रणाली, प्रतियोगिताको सञ्चालन, खेल तालिका वा खेलसम्बन्धी कुनै पनि निर्णय गर्ने अधिकार भने पूर्ण रूपमा फिफाकै नियन्त्रणमा रहनेछ।”
उहाँले यस योजनाबाट विश्वभरका समर्थक र सदस्य राष्ट्रहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो। “यसले हरेक देशमा फुटबलको विकासलाई नयाँ स्तरमा पुर्याउनेछ र समर्थकहरूलाई पनि ठूलो फाइदा हुनेछ,” उहाँले भन्नुभयो।
आलोचना र आशंका तीव्र
तर फिफाको यो प्रस्तावले युरोप, अमेरिका र एसियाका फुटबल निकायहरूबाट कडा आलोचना खेपिरहेको छ। युरोपेली फुटबल महासंघ (यूईएफए) ले यो योजना ‘फुटबलको आत्मामाथि प्रहार’ भएको टिप्पणी गर्दै फिफाले खेलको शासन प्रणालीलाई व्यापारिक वस्तु बनाउन खोजेको आरोप लगाएको छ।
यूईएफएको भनाइमा, “फुटबलको आत्मा र यसको शासन प्रणाली किनबेच गर्ने सम्पत्ति होइन। यसबाट आर्थिक लाभ कसले लिन्छ भन्ने विषयमा कुनै पारदर्शिता छैन। फुटबल कसैको निजी सम्पत्ति होइन र फिफाले बेच्ने अधिकार पनि राख्दैन।”
युरोपेली संघका खेल आयुक्त ग्लेन मिकालेफले पनि सामाजिक सञ्जाल एक्समार्फत “हाम्रो खेलबाट हात हटाऊ” भन्दै असन्तुष्टि जनाउनुभएको छ।
उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ (कन्काकाफ) ले आवश्यक कानुनी र संस्थागत प्रक्रिया पूरा नगरी प्रस्ताव अघि बढाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। त्यस्तै एसियाली फुटबल महासंघ (एएफसी) ले आफूहरूसँग पूर्वपरामर्श नगरी योजना ल्याइएकोमा निराशा जनाएको छ।
२० अर्ब डलर मूल्याङ्कनको लक्ष्य
फिफाका अनुसार एफएफईको प्रारम्भिक बजार मूल्य २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। सदस्य राष्ट्रहरूलाई एकपटकका लागि २ करोड अमेरिकी डलर बराबरको हिस्सेदारी खरिद गर्ने अवसर पनि प्रदान गरिनेछ। यो कुल स्वामित्वको केवल ०.१ प्रतिशत भए पनि आर्थिक रूपमा कमजोर सदस्य राष्ट्रका लागि महत्त्वपूर्ण अवसर हुन सक्ने फिफाको विश्वास छ।
इन्फान्टिनोमाथि व्यक्तिगत लाभको आरोप
ब्रिटिश दैनिक द टाइम्स ले यो योजनाबाट इन्फान्टिनो स्वयं लाभान्वित हुन सक्ने दाबी गरेको छ। समाचारअनुसार सन् २०३१ मा अध्यक्षको कार्यकाल समाप्त भएपछि उहाँ एफएफईको कमिस्नर बन्न सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ। तर फिफाले यस्तो विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ।
समाचारमा अमेरिकी लगानी कम्पनी थ्राइभ क्यापिटल तथा जेपी मोर्गन चेस जस्ता वित्तीय संस्थासँग प्रारम्भिक छलफल सुरु भएको दाबी पनि गरिएको छ।
विश्वकप विस्तारसँगै बढ्दो आर्थिक महत्व
फिफाले आगामी सन् २०२६ मा आयोजना हुने ४८ टोली सहभागी विश्वकपबाट ८ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी हुने अनुमान गरेको छ। यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ। यसलाई भविष्यमा ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको छ।
यसअघि सन् २०१९ मा इन्फान्टिनोले प्रस्ताव गर्नुभएको २५ अर्ब डलरको निजी लगानी योजनालाई फिफाको सरोकारवाला समितिले अस्वीकार गरेको थियो। त्यसयता भने फिफाले क्लब विश्वकपलाई सात टोलीबाट विस्तार गरेर ३२ टोलीसम्म पुर्याइसकेको छ।
यसैबीच, ‘द टाइम्स’ले एक वरिष्ठ फुटबल अधिकारीलाई उद्धृत गर्दै यो प्रस्ताव युरोपेली सुपर लिगभन्दा पनि बढी विवादास्पद हुन सक्ने टिप्पणी गरेको छ। उहाँका अनुसार यसले विश्वभरका सबै तहको फुटबलमा दीर्घकालीन प्रभाव पार्न सक्छ। (एएफपी)




प्रतिक्रिया राख्नुहोस्