जलवायु संकटको सामना गर्न नेपाल–चीन सहकार्यमा चिनीयाँ राजदूतको जोड
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न चीन र नेपाल एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभएको छ ।
शनिबार काठमाडौंमा ‘फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसलिजम’द्वारा आयोजित ‘काष्ठमण्डप संवाद’ शृङ्खला अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका विस्तारित आयाम’ विषयक कार्यक्रममा राजदूत चाङले सो कुरा बताउनुभएको हो ।
त्यस क्रममा उहाँले भदौ १० गते रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै चीनले नेपाललाई उपलब्ध गराएको सहयोगबारे पनि जानकारी गराउनुभयो ।
राजदूत चाङले विपद्मा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन, बेलीब्रिज, डिएनए परीक्षण उपकरण र उद्धार डुङ्गालगायत पाँच खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङभित्रको उद्धार, डिएनए पहिचान र फरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका २४ विज्ञ पठाइएको जानकारी दिनुभयो ।
चीनले नगद सहयोगसँगै विभिन्न चरणमा आपत्कालीन राहत तथा उद्धार सामग्रीका चार खेप नेपाल पठाइसकेको छ। पहिलो खेपमा दुई वटा चिनियाँ वायुसेनाका वाई–२० विमानमार्फत करिब ५० टन तौलका १३ हजार २०० थान राहत सामग्री नेपाल ल्याइएको थियो।
त्यसमा पाल, कम्बल, स्लीपिङ ब्याग, खाद्य सामग्री तथा प्राथमिक उपचारका सामग्री थिए। सोही खेपसँगै सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेका चार चिनियाँ विज्ञ पनि नेपाल आएका थिए।
दोस्रो खेपमा ड्रोन, डीएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरणका उपकरण र प्रकाशसम्बन्धी सामग्री पठाइएको थियो। सोही खेपसँगै पाँच जना डीएनए पहिचान विज्ञ नेपाल आएका थिए।
तेस्रो खेपमा शव संरक्षणका लागि मोर्चरी फ्रिजर, महामारी नियन्त्रणका सामग्री, दैनिक उपभोग्य सामग्री तथा बेलीब्रिज पठाइएको थियो।
बेलीब्रिज जडानका लागि आवश्यक विशेष उपकरणसमेत चीन–नेपाल सीमाबाट स्थलमार्ग हुँदै ल्याइएको चिनियाँ दूतावासले जनाएको छ। यसै खेपसँगै थप १० जना फरेन्सिक विज्ञ नेपाल आएका थिए।
चौथो खेपमा भने उद्धार होभरक्राफ्ट, बाढीको पानी तान्ने पम्प, अतिरिक्त ब्याट्री, मोर्चरी फ्रिजर र सौर्य ऊर्जाबाट सञ्चालन हुने बत्तीलगायत सामग्री नेपाल ल्याइएको छ।
चीनले उपलब्ध गराएका ड्रोन अहिले बाढी प्रभावित दुर्गम क्षेत्रमा राहत तथा उद्धार कार्यमा प्रयोग भइरहेका छन्। नेपाल सरकारले चीनबाट प्राप्त चारवटा ड्रोन प्रयोग गरी सडक तथा पुल अवरुद्ध भएका क्षेत्रमा खाद्यान्न, औषधि, इन्धनलगायत अत्यावश्यक सामग्री पुर्याइरहेको छ।
ती ड्रोनले एकपटकमा करिब ६० किलोग्रामसम्म सामान बोक्न सक्ने र दुर्गम क्षेत्रमा दैनिक धेरैपटक उडान गरिरहेको विवरण सार्वजनिक भएको छ।





प्रतिक्रिया राख्नुहोस्