जन सरोकार

बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी

कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोनाको जोखिम हुन नदिन तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार, अत्यावश्यकीय कामबाहेक घर बाहिर ननिस्कन प्रशासनले आग्रह गरेको छ ।

प्रशासनको आग्रहलाई अटेर गरी अनावश्यकरूपमा हिँडडुल गरेको पाइएमा कानूनबमोजिम कारवाही हुनेछ । निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ ।

त्यसैगरी एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति ९पास० भएका गाडी मात्र सञ्चालनमा आउन पाउनेछन् ।

पछिल्लोपटक सङ्क्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ । आन्तरिक राजश्व , यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवनचोकको एक मिठाइ पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगञ्जका तीन आइसोलेसन केन्द्र र खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा गरी बाँकेका ५४ सङ्क्रमितलाई राखिएको छ । बाँकेमा हालसम्म कोरोनाबाट दुईको ज्यान गएको छ भने सङ्क्रमितको सङ्ख्या ४३७ पुगेको छ ।

अवैध कपडा बरामद

कोहलपुर– जिल्ला प्रहरी बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्रायाउन लागेका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १५ जमुनाहाबाट प्रहरीले कुर्ता, टिसर्ट र सुरुवाल बरामद गरेको हो ।

भारतबाट अवैधरूपमा ल्याउँदै गरेको ५०० थान कुर्ता, १०० थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले बताउनुभयो । कोरोनाको कहर भए पनि चाडवाड नजिकिँदै गर्दा तस्करहरु कपडा भित्र्याउन लागिपरेका छन् । नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्ला बाहिर पनि जाने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.