जन सरोकार

यो जात्रा हैन खोप लगाउने भीड हो !

सरकारले कोरोना बिरुद्धको खोप वितरणको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रहरुमा जात्रा नै लाग्ने गरेको छ । झण्डै एक किलोमिटरसम्मको लाइनमा आपसमा टाँस्सिएर खोपका लागि लाइन बस्दा संक्रमणको जोखिम उच्च रहेको छ ।

यस्तै देखियो काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सहयोगी उच्च माध्यमिक विद्यालयमा । एकातिर खोपका लागि लाइन लागेको भीड अर्कोतिर खोप लगाउने र सुरक्षा प्रदान गर्ने जिम्मा लिएकाहरुबीचको बेमेलले उत्पन्न किचलोले अरु समस्या थप्ने गरेको आज देखिएको यहाँको दृश्यले पुष्टि गरेको छ ।

खोप लगाउने कार्य कसरी प्रभावकारी बनाउने भन्नेमा कुनै योजनाबिना अघि बढ्ने र खटिएका कर्मचारीहरुको अहंपन, प्रहरीको आफ्नै सुरक्षा नियम अनि प्राविधिकहरुको निरीहता खोप केन्द्रहरुमा देखिएको छ । सम्बन्धित कर्मचारीहरुको कमजोरीकै कारण विभिन्न स्थानमा झडप किन हुँदा रहेछन् भन्ने पनि स्पष्ट भएको छ ।

केन्द्रदेखि स्थानीय तहसम्मै खोप लगाउने काममा आफूले जस लिने अनर्थकारी सोचले गर्दा सर्वसाधारण ठूलो मर्कामा परिरहेका छन् । आवश्यकताभन्दा कम खोप दिने सम्बन्धित निकाय अनि बढीभन्दा बढीले लगाउन चाहन राख्दा स्वाभाविक रुपमा समस्या उत्पन्न भएको छ ।

यस्तो अवस्था देख्दा सरकारले यति करोड र उति करोड खोप आउँदैछ, लगाउँदैछौं भनेर गर्ने गरेका बाचाहरु हावादारी लाग्छन् । अर्कोतिर ५० वर्षभन्दा माथिकालाई लगाउने खोप २०(२२ वर्षकाले पनि लगाइराखेका छन् । यही हो व्यवस्थापन नभएको ।

यस्तो अवस्थाको अन्त्य गरेर उमेर समूह किटानी गरी चरणबद्ध रुपमा खोप लगाउने व्यवस्था प्रभावकारी रुपमा गर्न नसके ५ करोड खोप आए पनि भिडभाड र असन्तुष्टि कायमै रहन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.