जल/वातावरण

लकडाउन खुलापछि निम्तिएको विपत्ति : १३ दिनमा २७ सय संक्रमित

सरकारले साउन ६ गतेदेखि केही सीमित क्षेत्र बाहेक लकडाउन अन्त्यको घोषणा गरेसंगै कारोना संक्रमण समुदायस्तरमै फैलिन पुग्यो र संक्रमण दर झण्डै दोब्बरले बढ्यो । काठमाडौं उपत्यका लगायत प्रमुख शहरहरुमा संक्रमित बढिरहेका मात्र हैनन् अति सम्वेदनशील क्षेत्रमा पनि संक्रमण पुगेको छ ।

लकडाउन अवधिको १३ दिनमा १ हजार ५ सय ७१ जना संक्रमित थपिएका थिए भने लकडाउन अन्त्य भएको १३ दिनमा २ हजार ७ सय ५६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । लकडाउन खुलेपछि झन्डै दोब्बर संख्याले कोरोना संक्रमित भेटिएका छन् ।

लकडाउन अन्त्य हुनुपूर्व १३ दिनमा दैनिक संक्रमित संख्या एक सय वरिपरि थियो । उक्त अवधिमा साउन ५ गते सबभन्दा बढी १८६ जनालाई संक्रमण पुष्टि भएको थियो । सबभन्दा कम साउन ३ गते ५७ जनामा संक्रमण देखिएको थियो । तर लकडाउन खुलेसँगै संक्रमण दर पनि बढ्दै गयो । साउन १२ गतेसम्म संक्रमित संख्या एक सय वरिपरिमै सीमित भएको थियो तर साउन १३ गते संक्रमण दर दोब्बरले वृद्धि भयो ।

साउन १३ गते ३ सय ११ जनामा संक्रमण पुष्टि भयो । त्यसयता दैनिक २ सयदेखि ३ सय वरिपरि संख्यामा संक्रमित थपिएका छन् । हिजो सोमबारमात्र ४ सय १८ जनामा संक्रमण पुष्टि भयो । यो पछिल्लो महिनामा देखिएको धेरै संक्रमित संख्या हो ।

लकडाउन खुलेपछि सीमावर्ती सहरहरू वीरगन्ज, विराटनगर, राजविराज र जनकपुरमा धेरै संक्रमित फेला परे । सीमाबाट हुने अव्यवस्थित आवतजावतले ती ठाउँहरूमा संक्रमण बढेको बताइएको छ । वीरगञ्जमा या अवधिमा झण्डै एक दर्जनले ज्यान गुमाए ।

वीरगन्जमा लकडाउन खुलेसँगै कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । सोमबारमात्र वीरगन्जमा ७४ जनामा संक्रमण देखिएको थियो । मंगलबार पनि ३४ जना संक्रमित थपिएका छन् । ती संक्रमित सबै भारतबाट आएका होइनन् । सुरक्षाकर्मी, विद्यार्थी, उद्योगी, स्वास्थ्यकर्मी, कामदार र स्थानीय सबैमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.