कर्पोरेट/पर्यटन

यलुङ–री हिमालमा पाँच शव देखिएको दाबी, उद्धारमा खराब मौसम बाधक

दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा पाँच जनाको शव देखिएको स्थानीयले जानकारी दिएपछि खोजी तथा उद्धारका लागि प्रयास भइरहेको छ।

तर, खराब मौसमका कारण घटनास्थलसम्म हेलिकोप्टर पुग्न नसक्दा शवको अवस्था र पहिचानबारे आधिकारिक पुष्टि हुन सकेको छैन।

गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमागेली शेर्पाका अनुसार स्थानीयबाट पाँच वटा शव देखिएको जानकारी आएपछि गत शुक्रबारदेखि सिमीगाउँबाट हेलिकोप्टर उडाउने प्रयास भइरहेको छ। मौसममा सुधार नआएपछि हेलिकोप्टर घटनास्थलसम्म पुग्न सकेको छैन।

शव देखिएको भनिएपछि खोजी तथा उद्धारमा सक्रिय ड्रिम डेस्टिनेसनले शव सङ्कलन र पहिचानका लागि शुक्रबार यलुङ–री क्षेत्रमा हेलिकोप्टर पठाएको थियो। तर प्रतिकूल मौसमका कारण टोली घटनास्थलसम्म पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार यलुङ–री हिमालको आधार शिविर क्षेत्रमा पाँच वटा शव देखिएको सूचना प्राप्त भए पनि त्यसको आधिकारिक पुष्टि भइसकेको छैन। उहाँले ती शव गत वर्ष हिमपहिरोमा परी बेपत्ता भएका आरोहीहरूको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो।

गत वर्ष हिमपहिरोमा सात जना बेपत्ता

गत वर्ष कात्तिक १७ गते यलुङ–री हिमाल आरोहणका क्रममा गएको समूह हिमपहिरोमा परेपछि सात जना बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको शव घटनापछि नै फेला परेको थियो भने पाँच जनाको अवस्था त्यसयता अज्ञात थियो।

खोजी तथा उद्धारमा संलग्न ड्रिम डेस्टिनेसनका अनुसार हिमपहिरोपछि लगातार हिमपात भएका कारण त्यस समयमा खोजी कार्य अघि बढाउन कठिन भएपछि अभियान स्थगित गरिएको थियो।

त्यतिबेला स्थानीयवासीले हिउँ पग्लिँदै गएपछि हिमपहिरोमा पुरिएका आरोहीको शव देखिन सक्ने बताएका थिए। अहिले स्थानीयले पाँच वटा शव देखिएको जानकारी दिएपछि लामो समयदेखि बेपत्ता रहेका आरोहीको खोजी पुनः अघि बढाउने प्रयास भइरहेको हो।

१५ जना आरोहणका लागि गएका थिए

गत वर्ष विभिन्न समूहमा नेपाली तथा विदेशी गरी १५ जना यलुङ–री हिमाल आरोहणका लागि गएका थिए। पाँच हजार ६३० मिटर उचाइमा रहेको यलुङ–री हिमालतर्फ जाने क्रममा उनीहरू कात्तिक १७ गते हिमपहिरोमा परेका थिए।

हिमपहिरोमा परेका आठ जनाको भने सकुशल उद्धार गरिएको थियो। घटनामा गौरीशङ्कर गाउँपालिका–९ का पदम तामाङ र सोलुखुम्बुको बुक्साका मेरे कार्कीको शव त्यतिबेलै फेला परेको थियो।

हिमपहिरोपछि फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो गरी पाँच जना विदेशी आरोही बेपत्ता भएका थिए।

स्थानीयले अहिले देखिएको भनिएका शव तिनै बेपत्ता आरोहीका हुन सक्ने अनुमान गरिएको छ। यद्यपि शवको आधिकारिक पहिचान तथा घटनास्थलमा पुगेर स्थलगत निरीक्षण नभएसम्म यसबारे कुनै निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ।

खराब मौसमले उद्धारमा चुनौती

उच्च हिमाली क्षेत्रमा मौसममा हुने तीव्र परिवर्तनका कारण खोजी तथा उद्धार अभियान थप चुनौतीपूर्ण बनेको छ। हेलिकोप्टरबाट घटनास्थल पुग्ने प्रयास भए पनि प्रतिकूल मौसमका कारण उडान प्रभावित भएको हो।

सम्बन्धित निकायले मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरमार्फत घटनास्थलको निरीक्षण गरी शवको वास्तविक संख्या, अवस्था र पहिचान यकिन गर्ने तयारी गरेको छ।

(समाचारमा प्रयुक्त तस्वीर एआई सिर्जित हो)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.