भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा लगाइएको भ्रष्टाचार मुद्दा खारेज
अमेरिकी न्यायाधीशले भारतीय अर्बपति उद्योगपति गौतम अडानीविरुद्ध लागेको घुसखोरी तथा ठगीसम्बन्धी मुद्दा सोमबार औपचारिक रूपमा खारेज गर्नुभएको छ । ट्रम्प प्रशासनले अडानीविरुद्धको अभियोजन अघि नबढाउने निर्णय गरेपछि ब्रुकलिनका सङ्घीय न्यायाधीश निकोलस गाराउफिसले अभियोजकहरूको अनुरोध स्वीकृत गर्नुभएको हो ।
अदालती अभिलेखअनुसार अभियोजकहरूले गत मेमा सन् २०२४ मा अडानीले भारतीय अधिकारीलाई आकर्षक सौर्य ऊर्जा आपूर्ति सम्झौता प्राप्त गर्न २६ करोड ५० लाख अमेरिकी डलर घुस दिने योजनामा संलग्न भएको आरोप खारेज गर्न अनुरोध गरेका थिए । न्यायाधीश गाराउफिसले सोही अनुरोधलाई औपचारिक रूपमा स्वीकृति दिनुभएको हो ।
अमेरिकी न्याय मन्त्रालयले मुद्दा खारेज गर्ने निर्णय गरे पनि त्यसको प्रक्रियाप्रति न्यायाधीश गाराउफिसले असन्तुष्टि जनाउनुभएको छ । उहाँले ट्रम्प प्रशासनका डेपुटी एसोसिएट अटर्नी जनरल ट्रेन्ट म्याककोटरले मुद्दा खारेज गर्ने निर्णयमा सम्बन्धित अनुसन्धानकर्ता र अभियोजकबाट पर्याप्त सुझाव नलिएको विषयलाई असामान्य बताउनुभएको हो ।
न्यायाधीश गाराउफिसले अदालतको आदेशमा म्याककोटरले प्रतिरक्षा पक्षका वकिलसँगको सहकार्यमा निर्णयमा पुगेको देखिनु तथा कथित अपराधको अनुसन्धान गर्ने एफबीआई र अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसइसी) का अधिकारी एवं मुद्दा अघि बढाउने अभियोजकबाट आवश्यक जानकारी नलिनु अत्यन्त असामान्य देखिएको उल्लेख गर्नुभएको छ ।
यसअघि अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलसमेत रहनुभएका अडानीका वकिल रोबर्ट गिफ्राले अप्रिलमा न्याय मन्त्रालयका अधिकारीसँग आरोप हटाइएमा अडानीले अमेरिकी अर्थतन्त्रमा १० अर्ब अमेरिकी डलर लगानी गर्न इच्छुक रहेको बताउनुभएको बताउनुभएको थियो ।
मुद्दाका न्यायाधीशले अडानी पक्षबाट गरिएको भनिएको लगानी प्रतिबद्धता अमेरिकी सरकारको अभियोजन खारेज गर्ने निर्णयको कुनै कारण बनेको थियो कि थिएन भन्ने विषयमा समेत प्रश्न उठाउनुभएको थियो ।
सङ्घीय कानूनी प्रणालीमा अभियोजन पक्षले अदालतमा दर्ता भइसकेको गम्भीर मुद्दा यसरी खारेज गर्न खोज्नु दुर्लभ मानिन्छ । तर न्यायाधीश गाराउफिसले अन्ततः उक्त लगानीको प्रतिबद्धता अभियोजन खारेज गर्ने निर्णयको आधार नभएको निष्कर्ष निकाल्नुभएको थियो ।
अमेरिकी अभियोजकहरूले सन् २०२४ मा अडानी र उहाँसँग सम्बन्धित व्यक्तिहरूविरुद्ध भारतमा सौर्य ऊर्जा परियोजनासम्बन्धी आकर्षक सम्झौता हात पार्न अधिकारीलाई घुस दिने योजना बनाएको आरोप लगाएका थिए । उनीहरूमाथि लगानीकर्तालाई भ्रममा पार्ने तथा अमेरिकी वित्तीय बजारसँग सम्बन्धित कानून उल्लङ्घन गरेको आरोपसमेत लगाइएको थियो ।
मुद्दा खारेज भएपछि अडानीले अमेरिकी अदालतको निर्णयको स्वागत गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा अमेरिकी अदालतको फैसलालाई विनम्रतापूर्वक र न्यायिक प्रक्रियाप्रति गहिरो सम्मानका साथ स्वीकार गरेको बताउनुभएको छ ।
उहाँले चुनौतीपूर्ण अवधिमा आफूहरूको सत्य, निष्पक्षता र विधिको शासनप्रतिको विश्वास अटल रहेको पनि उल्लेख गर्नुभएको छ ।
अडानी समूह भारतको सबैभन्दा ठूलो व्यापारिक समूहहरूमध्ये एक हो । समूहले बन्दरगाह, विद्युत् आयोजना, सिमेन्ट कारखाना, ऊर्जा तथा सञ्चारमाध्यमलगायत विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ ।
भारतका धनी उद्योगपतिमध्ये एक अडानी पछिल्ला वर्षमा कर्पोरेट ठगीसम्बन्धी आरोप र कम्पनीका शेयर मूल्यमा आएको ठूलो गिरावटका कारण विवादमा रहनुभएको थियो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट सहयोगीका रूपमा समेत चिनिनुहुन्छ र प्रधानमन्त्री मोदीकै गृह राज्य गुजरातका हुनुहुन्छ ।
अडानी सामाजिक सञ्जालमा राष्ट्रपति ट्रम्पका मुखर समर्थकसमेत रहँदै आउनुभएको छ । अमेरिकी अदालतको पछिल्लो निर्णयसँगै उहाँविरुद्ध अमेरिकामा चलिरहेको उक्त आपराधिक अभियोजन औपचारिक रूपमा अन्त्य भएको छ ।




प्रतिक्रिया राख्नुहोस्