क्रिकेटखेल

रोहितको कप्तानी योगदानको वर्तमान कप्तान सन्दीप र उपकप्तान दीपेन्द्रद्वारा प्रशंसा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछाने र एकदिवसीय उपकप्तान तथा टी–२० कप्तान दीपेन्द्रसिंह ऐरीले रोहित पौडेलको कप्तानी योगदानको खुलेर प्रशंसा गर्नुभएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले एकदिवसीय टोलीको कप्तानमा आफूलाई नियुक्त गरेपछि लामिछाने सामाजिक सञ्जालार्फत पौडेललाई व्यक्तिगत रूपमा धन्यवाद दिँदै टोली र देशका लागि उहाँले गर्नुभएको योगदानको प्रशंसा पनि गर्नुभएको छ।

कप्तान लामिछानेले पौडेलले टोलीलाई हरेक परिस्थितिमा नेतृत्व गर्नुभएको स्मरण गर्दै उहाँको योगदान, प्रतिबद्धता र उपस्थितिको सदैव कदर गरिने बताउनुभएको छ।

यसै गरी उपकप्तान ऐरीले सामाजिक सञ्जालमार्फत पौडेलको कप्तानी यात्राको प्रशंसा गर्दै चार वर्षसम्म कप्तानका रुपमा पौडेलले दिएको योगदानको उच्च कदर गर्दै नेपाली क्रिकेटका लागि समर्पित गरेको समय र योगदानको स्मरण गर्दै उहाँको नेतृत्वले नेपाली क्रिकेटमा महत्वपूर्ण प्रभाव पारेको उल्लेख गर्नुभएको छ।

पौडेलको नोभेम्बर १, २०२२ देखि अगस्ट १०, २०२६ सम्मको कप्तानी सम्झदै ऐरीले लेख्नुभएको छ, “केही यात्राहरू वर्षले मापन गरिन्छन्, तर केही यात्राले सधैँ रहिरहने विरासत छोड्छन् । कप्तानका रूपमा उहाँले केवल टोलीको नेतृत्व मात्र गर्नुभएन, एउटा राष्ट्रलाई प्रेरित गर्नुभयो, खेलाडीहरूलाई एकताबद्ध गर्नुभयो र नेपाली क्रिकेट इतिहासका केही अविस्मरणीय क्षण सिर्जना गर्न योगदान दिनुभयो।”

पौडेलको समर्पण, त्याग र दूरदृष्टिका कारण नेपाली क्रिकेटले हासिल गरेका धेरै उपलब्धि सम्भव भएको ऐरीले उल्लेख गर्नुभएको छ। कम उमेरमै पौडेलले नेपाली क्रिकेट र देशका लागि उल्लेखनीय योगदान दिनुभएको उहाँको भनाइ छ।

“उहाँको योगदानलाई केवल कीर्तिमान, ट्रफी वा जितका आधारमा मात्र मापन गर्न सकिँदैन। उहाँले लाखौँ क्रिकेटप्रेमीमा जगाउनुभएको आशा र विश्वासका आधारमा पनि उहाँको योगदानलाई मापन गर्नुपर्छ,” ऐरीले लेख्नुभएको छ।

पौडेलले कप्तानीबाट बिदा लिए पनि उहाँको क्रिकेट यात्रा समाप्त नभएको ऐरीले बताउनुभएको छ। यो नयाँ युग, नयाँ अध्याय र अझ ठूलो यात्राको सुरुवात भएको उहाँको भनाइ छ।

“धन्यवाद कप्तान, आफ्नो हृदयदेखि नेतृत्व गर्नुभएकोमा र हामीलाई गर्व गर्ने यति धेरै कारण दिनुभएकोमा,” ऐरीले पौडेलप्रति आभार व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.