राजनीति

म शक्ति प्राप्त गर्न नभई, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ : शेरबहादुर देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई, राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको बताउनुभएको छ । बिहीबार स्वदेश फर्किएसँगै एक अपिल जारी गरी उहाँले यस्तो बताउनुभएको हो ।

“म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु,” देउवाले भन्नुभएको छ । झन्डै पाँच महिनापछि स्वदेश फर्कंदा हृदय गहिरो भावनाले भरिएको भन्दै देउवाले विगतमा बीपी कोइरालाले भारत निर्वासनपछि नेपाल फर्कंदा सबै शक्ति एकजुट हुन आह्वान गरेका र अहिले पनि त्यस्तै खालको सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको अपिलमा उल्लेख गर्नुभएको छ ।

“२०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कंदा सबै राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको थियो । मलाई लाग्छ, फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ ” देउवाले अपिलमा लेख्नुभएको छ ।

उनले आफू नेता नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको बताउँदै देशको सेवाका निम्ति तत्पर रहेको बताउनुभयो ।

“म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु–विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर,” देउवाको अपिलमा उल्लेख छ ।

देउवाले युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको मौन पीडालाई कांग्रेसले नजिकबाट बुझेको उल्लेख गर्दै बदलिँदो समयसँगै पार्टीलाई पनि रूपान्तरण गर्दै लैजाने र नयाँ पुस्ताको सिर्जनशील क्षमतालाई कदर गर्ने बताउनुभएको छ । उहाँले विगतका त्याग र बलिदानलाई नजरअन्दाज नगर्न आग्रह गर्दै नयाँ र पुराना पुस्ताबिचको सहकार्यमा जोड दिनुभएको छ ।

साथै देउवाले कांग्रेसभित्र देखिएको अहसमति र निराशा तुरून्त समाधान हुनुपर्ने बताउनुभएको छ ।

‘नेपाली कांग्रेस आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो, सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नुपर्छ,’ देउले भन्नुभएको छ, ‘संसदमा कांग्रेस अंकगणितीय रूपमा सानो-ठूलो भयो होला, तर २००७ सालदेखि राजनीतिक परिवर्तनको हरेक खुट्किलोको नेतृत्वकर्ता हो- कांग्रेस।’

देउले आफू सार्वजनिक पदमा बस्दा राष्ट्र, लोकतन्त्र, नागरिक, संविधान र कानुनलाई सर्वोपरि मानी काम गरेको, नीति–नियमविपरीत कुनै कार्य नगरेको बताउनुभयो ।

“मेरो जीवन खुला किताब हो । म प्रतिज्ञा गर्दछु– अझ पनि जीवन रहँदासम्म राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, मुलुक र जनताको सर्वोत्तम हित, संविधान कानुन र नैतिकता, मूल्य–मान्यताअनुरूप काम गर्नेछु र यी विषयमा कुनै कसैसँग मेरो सम्झौता हुन सक्दैन,” देउले अपिलमा लेख्नुभएको छ ।

‘नेपाली कांग्रेस कसैको इगोमा होइन, जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ,’ देउवाले भन्नुभयो, ‘मैले राजनीतिक रूपमा लिनुपर्ने केही छैन । युवा साथीहरू अघि बढ्नुपर्छ तर पाका र अनुभवीजति खराब हुन् भन्ने गलत भास्य बनाउन हुन्न । पार्टीभित्रका साथीहरूको भावनालाई पुन: एकपटक जोड्नुपर्ने समय आएको छ। त्यस कार्यमा लाग्न म सम्पूर्ण नेता तथा कार्यकर्तालाई अपिल गर्न चाहन्छु ।’

यस्तो छ अपिल

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.