जन सरोकार

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५ मा पहिरोमा परेर १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिरोबाट मृत्यु भएका तथा बेपत्ता भएका घटनाले पार्टी स्तब्ध भएको जनाएको छ ।

कांग्रेसले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको खोजी, घाइतेको उपचार र पीडित परिवारलाई तत्काल राहत तथा पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बैठकले लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएका पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्दै उहाँको पूर्ण स्वास्थ्यलाभको समेत कामना गरेको छ ।

कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको भूमिकाको उच्च सम्मान गर्दै आगामी दिनमा पार्टीलाई गतिशील बनाउन उहाँले ‘अभिभावकीय भूमिका’ निर्वाह गर्ने विश्वास व्यक्त गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।

यस्तै बैठकले प्रेस काउन्सिलका पूर्वकार्यवाहक अध्यक्ष एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई मध्यराति गिरफ्तार गरिएको, कार्यालयमा खानतलासी गरिएको र हत्कडी लगाइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले उक्त घटनालाई ‘स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने राज्यको नियत’ भन्दै यस्तो अवाञ्छित कार्य नगर्न सरकारलाई सचेत गराएको छ ।

यसैगरी, सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदबाट प्रदर्शन गरिएको व्यवहारलाई कांग्रेसले ‘असंसदीय र अमर्यादित’ ठहर गरेको छ । संसद् र संसदीय समितिहरूमा तथ्य र विधिसम्मत ढङ्गले प्रस्तुत हुन आग्रह गर्दै कांग्रेसले आफ्ना सांसदलाई पनि अनुशासित र जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।

बिहीबारको बैठकमा पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, लक्ष्मी परियार, प्रतिमा गौतम, प्राडा गोविन्दराज पोखरेल, अमरसिंह पुनलगायत १८ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नुभएको थियो । पार्टीको केन्द्रीय कार्यसमिति बैठक यही साउन २९ गते शुक्रबार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता चालिसेले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.