जन सरोकार

राष्ट्रकवि माधव घिमिरेको निधन : निवासबाहिर शुभेच्छुकहरुको भीड

राष्ट्रकवि माधव घिमिरेको निवासबाहिर शुभेच्छुकहरुको भीड

“नेपाली हामी रहौंला कहाँ नेपालै नरहे…” जस्तो कालजयी राष्ट्रिय भावनाको गीतका सर्जक राष्ट्रकवि माधव घिमिरेको मंगलबार साँझ असामयिक निधन भयो । उहाँको निधनको समाचार सार्वजनिक भएसँगै लैनचौरस्थित निवासमा शुभेच्छुकहरूको भीड लागेको छ ।

राष्ट्रकविको निवासबाहिर संचारकर्मी तथा कवि साहित्यकारको जमघट भए पनि घरभित्र प्रवेश दिइएको छैन । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँको घरमै उपचार गरिएको थियो । तर साँझ ५ः५५ बजे निधन भयो ।

केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।

दिवंगत घिमिरे लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मनुभएको थियो । उहाँले बनारसमा दर्शनमा शास्त्रीसम्मको अध्ययन पूरा गरेर प्राध्यापन गर्नुभएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेपछि सदस्यदेखि कुलपतिसम्म पनि उहाँ बन्नुभयो ।

काव्य लेखनको शुरूवात उहाँले विसं १९९४ मा ‘नव मंजरी’ कवितासंग्रह तथा विसं २०१३ मा ‘नया नेपाल’ कवितासंग्रह प्रकाशित गरेर गर्नुभयो । उहाँकी पत्नी गौरीको देहावसानपछि पत्नी वियोगको वेदनामा शोक काव्यको ‘गौरी’ रचना गर्नुभयो ।

महाकवि देवकोटाको मुना मदनपछि सबैभन्दा बढि पढिने काव्यको रुपमा यो गौरीले स्थान पाएको छ । उहाँका अरू महत्वपूर्ण काव्यहरूमा राजेश्वरी, राष्ट्र निर्माता, धरती माता, पापिनी आमा , शकुन्तला गीति नाटक, मालती मंगले, गीति नाटक मा विष कन्या, हिमालवारी हिमाल पारी, वाल कुमारी, देवकी आदि रहेका छन् ।

उहाँको मनको बाँध चलचित्रको एउटै गीत ‘फूलको थुंगा बगेर गयो गंगाको पानीमा’ कालजयी गीत हो । उहाँले बालसाहित्यिक क्षेत्रमा वाला लहरी, घामछाया, घामपानी आदि कृतिहरूको योगदान पनि दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.