कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको बुधबार बसेको २७औँ बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्नुभएको हो ।
बैठकमा प्रदेश सभामुख नन्दा गुरुङले नेपालको संविधानको धारा १८८ को उपधारा १ बमोजिम प्रदेशसभा समक्ष विश्वासको मतका लागि वक्तव्यसहित मुख्यमन्त्री शाहीलाई कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १५१ को उपनियम ४ बमोजिम सभामा प्रस्ताव पेश गर्न समय दिनुभयो ।
सोही अनुसार मुख्यमन्त्री शाहीले बैठकमा प्रस्ताव पेश गरेसँगै आवश्यक छलफलपश्चात् सभामुख गुरुङले मत विभाजनको प्रक्रिया सुरु गर्नुभयो । कुल ४० प्रदेशभा सदस्यमा ३६ सभा सदस्यले मतदान गरेका थिए । मुख्यमन्त्री शाहीको पक्षमा २१ जनाले तथा विपक्षमा १३ जनाले मतदान गरेका थिए । दुई जना तटस्थ बसेका सभामुख गुरुङले बताउनुभयो ।
विश्वासको मतको पक्षमा २१ मत परेको र उक्त मत तत्कालीन प्रदेशसभामा कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएको बताउँदै सभामुख गुरुङले नेपालको संविधानको धारा १८८ को उपधारा १ तथा कर्णाली प्रदेशसभा नियमावलीको १८१ नियम १५१ को बमोजिम मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि सभासमक्ष राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
प्रदेशसभाको अर्को बैठक भदौ ४ गते दिउसो ३ः०० बस्ने बस्नेछ ।




प्रतिक्रिया राख्नुहोस्