कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्नुअघि सिफारिश र अनुमति लिनुपर्ने
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको महामारी नै उत्पन्न भएको अवस्थामा उपचारका लागि आइसोलेसन बेडको अभाव भएपछि निजी अस्पतालहरुलाई अबदेखि आफूखुसी भर्ना नगर्न निर्देशन दिइएको छ ।

स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना हुनुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ ५ गते शुक्रबार एक सूचना जारी गरी कोभिड–१ उपचारमा संलग्न उपत्यकाका सबै अस्पताल र एम्बुलेन्स सेवाहरुले क्लिनिकल मेनेजमेन्ट टिममा रहेका पदाधिकारीहरुको सिफारिश र समन्वयमा मात्र कोरोना संक्रमितहरुको भर्ना लिन र बिरामी अस्पताल लैजान निर्देशन दिइएको हो ।
सो टीममा रहेका चारजना र ४ वटा कल सेन्टरको नम्बरसहित निर्देशन दिएको मन्त्रालयले स्वास्थ्य विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुलाई पनि सोही अनुसार गर्न निर्देशन दिइएको छ ।
एकातिर कोरोना संक्रमण बढिरहेको, उपत्यकामा आईसियू र भेन्टिलेटरको अभाव भएको स्थिति छ । त्यस्तै कतिपय निजी अस्पतालहरुले कोरोना संक्रमितको मात्र हैन अन्य सामान्य बिरामीको समेत भर्ना नलिइरहेको अवस्थामा आएको यस्तो सूचनाले आम जनमानसमा भने भ्रम सिर्जना गरेको छ ।
आफूखुसी संक्रमितको भर्ना गर्दा आवश्यक सुरक्षा उपाय अपनाउन ढिलाइ हुने र यसबाट संक्रमण अरु फैलने भएकाले पूर्व तयारीपछि मात्र भर्ना लिन निर्देशन दिइएको स्वास्थ्यका एक अधिकारीले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्