अर्थ

ठूलो परिमाणमा मोबाइल–ल्यापटप तथा सुनसहित चिनीयाँ र नेपाली नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली गरी ल्याइएका ठूलो परिमाणका मोबाइल, ल्यापटप तथा तिनका पार्टपुर्जा र सुर्तीजन्य पदार्थसहित एक चिनीयाँ नागरिकलाई पक्राउ गरिएको छ । सोही क्रममा यात्रुमार्फत सुन ओसारपसार गर्न खोजिएको आरोपमा एक नेपाली नागरिक पनि पक्राउ परेका छन्।

एआई सिर्जित सांकेतिक तस्वीर

विमानस्थल सुरक्षा कार्यालयका अनुसार भदौ ६ गते चीनको ग्वाङडोङबाट चाइना इस्टर्न एयरलाइन्समार्फत नेपाल आएका २९ वर्षीय चिनियाँ नागरिक चेन जुनसानलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा शङ्काका आधारमा जाँच गरिएको थियो।

चेनको साथबाट बिलबिजक नभएका मोबाइल, ल्यापटप, मोबाइल तथा ल्यापटपका पार्टपुर्जा, डिस्प्ले, कभर तथा विदेशी चुरोटलगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ। बरामद सामग्रीको अनुमानित मूल्य रु ७२ लाख २५ हजार रहेको छ।

प्रहरीका अनुसार चेनको साथबाट विभिन्न मोडलका ४६ वटा आइफोन, मोबाइलका २६५ वटा डिस्प्ले, २५७ वटा हाउजिङ कभर, पाँच वटा एचपी ल्यापटप, डेलका तीन वटा डिस्प्ले कभर, मोबाइल ब्याट्री तथा विदेशी चुरोट बरामद भएका छन्।

बरामद सामग्रीसहित चेनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, भदौ ५ गते दोहाबाट नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं आएका यात्रुमार्फत सुन ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय पार्किङ क्षेत्रमा निगरानी बढाएको थियो।

सो क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ का ३५ वर्षीय कृष्ण यादवलाई तीन जना विदेशबाट आएका यात्रुमार्फत ल्याइएको सुनजस्तो देखिने पहेँलो धातुका तीन थान सिक्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। ती सिक्रीको कुल तौल करिब ७५ ग्राम रहेको छ।

प्रहरीका अनुसार यादवले ती तीन यात्रुलाई सामग्री ल्याइदिएबापत जनही रु १० हजारका दरले कुल रु ३० हजार दिन तयारी अवस्थामा रहेको पाइएको थियो। उक्त रकमसमेत उहाँको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै घटनामा पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीलाई आवश्यक अनुसन्धान र प्रचलित कानुनबमोजिम कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

विमानस्थलमा पछिल्लो समय यात्रुमार्फत मोबाइल, इलेक्ट्रोनिक सामग्री तथा सुनका गहना ल्याउने क्रममा भन्सार नियम उल्लङ्घनका घटना देखिँदै आएका छन्।

हालको व्यवस्थाअनुसार विदेशबाट फर्कने नेपाली यात्रुले व्यक्तिगत प्रयोगका लागि पुरुषले २५ ग्राम र महिलाले ५० ग्रामसम्म सुनका गहना भन्सार महसुल नतिरी ल्याउन पाउने व्यवस्था छ भने तोकिएको सीमाभन्दा बढी ल्याउँदा प्रचलित नियमअनुसार घोषणा तथा महसुल भुक्तानी गर्नुपर्ने हुन्छ।

यस घटनाले विमानस्थलको भन्सार तथा सुरक्षा जाँच प्रणालीसँगै यात्रुलाई प्रयोग गरेर हुने अवैध ओसारपसार नियन्त्रणमा थप निगरानी आवश्यक रहेको देखाएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.