राजनीति

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनुभएको छ ।

सञ्चारमन्त्री डा तिमिल्सिनासँग सोमबार यहाँ राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीले गर्नुभएको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।

अब सरकारी विज्ञापन वितरणमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन चक्रसँग जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक ढङ्गले निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले केही समयअघि मात्रै राष्ट्रिय विज्ञापन नीति जारी भएको उल्लेख गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो ।

विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चारमाध्यम, नियामक निकाय तथा उपभोक्तासहित विज्ञापन बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री तिमिल्सिनाले पछिल्ला वर्षमा डिजिटल माध्यमको तीव्र विकाससँगै विज्ञापन गर्ने शैली र विज्ञापनका उपभोक्ताको व्यवहारमा समेत ठूलो परिवर्तन आएको बताउनुभयो ।

विगतमा प्रयोग हुँदै आएका परम्परागत विज्ञापनका तरिका मात्रै पर्याप्त नहुने भन्दै उहाँले प्रविधिको विकास र बदलिँदो उपभोक्ता व्यवहारअनुसार विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रलाई सिर्जनात्मक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

विज्ञापन क्षेत्रको विकासले सञ्चारमाध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगारी सिर्जना र व्यवसाय प्रवर्द्धनमा समेत योगदान पुर्याउने भएकाले यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने उहाँको भनाइ छ ।

भेटका क्रममा राष्ट्रिय विज्ञापन सङ्घ नेपालले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्रसँगै विज्ञापन व्यवसाय पनि प्रभावित भएको उल्लेख गर्दै विज्ञापन बजार र विज्ञापन एजेन्सीले भोगिरहेका समस्या तथा कानुनी र नीतिगत विषयमा मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।

विज्ञापन एजेन्सी सरकार, सञ्चारमाध्यम, विज्ञापनदाता र उपभोक्ताबीचको महत्त्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको उल्लेख गर्दै सङ्घले यस क्षेत्रले हजारौँ रोजगारी सिर्जना गर्नुका साथै व्यापार तथा व्यवसाय प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.