पूर्वाधारको पर्खाइमा प्राकृतिक स्वर्ग ‘तीनछाँगे झरना’
प्राकृतिक सौन्दर्यले भरिपूर्ण ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९, ककनीस्थित तीनछाँगे झरना पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावमा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ।
एउटै खोलामा करिब ५०० मिटरको दूरीभित्र रहेका तीन मनमोहक झरनाले अनुपम प्राकृतिक दृश्य प्रस्तुत गरे पनि पहुँच र प्रवर्द्धनको कमीले यो क्षेत्र ओझेलमा परेको हो।
ककनी गाउँ हुँदै बग्ने ककनी खोला कपल्टी भिरमा पुगेपछि लगातार तीन स्थानमा झरनाका रूपमा खस्ने भएकाले यसलाई स्थानीयले तीनछाँगे झरना नाम दिएका छन्।
तीनमध्ये पहिलो झरना गाउँबाट करिब १० मिनेटको पैदल दूरीमा पुग्न सकिन्छ। यहाँ गोरेटो बाटो, रेलिङ, विश्रामस्थल र काठेपुलजस्ता आधारभूत संरचना निर्माण गरिएकाले पर्यटकलाई पुग्न सहज छ।
दोस्रो झरना भने पहिलोभन्दा केही तल विकट भौगोलिक क्षेत्रमा रहेको छ। घुमाउरो गोरेटो हुँदै करिब २० मिनेट ओरालो झरेपछि पुगिने यो झरना तीनमध्ये सबैभन्दा अग्लो रहेको स्थानीय दिलबहादुर तामाङले बताउनुभयो।
तेस्रो झरना गहिरो खोचभित्र रहेकाले त्यहाँ पुग्ने सुरक्षित बाटो अहिलेसम्म निर्माण हुन सकेको छैन। प्राकृतिक रूपमा सबैभन्दा आकर्षक मानिने यो झरना अवलोकन गर्न चाहनेहरूका लागि पहुँच अझै चुनौतीपूर्ण बनेको छ।
स्थानीयका अनुसार झरनाको मुहान क्षेत्रमा प्रसिद्ध ककनी चम्पादेवी मन्दिर रहेको छ, जसले यस क्षेत्रलाई धार्मिक र प्राकृतिक पर्यटनको संयुक्त गन्तव्य बनाउने सम्भावना बोकेको छ। तर हालसम्म निर्माण भएका पूर्वाधार अपूरा भएकाले पर्यटकको आगमन अपेक्षाअनुसार बढ्न सकेको छैन।
स्थानीय ढकबहादुर सुनुवारले ककनी गाउँसम्म पुग्ने सडकको स्तरोन्नति तथा झरनासम्म सुरक्षित पदमार्ग निर्माण गर्न सके यस क्षेत्र प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने बताउनुभयो।
झरना आसपास तामाङ र सुनुवार समुदायको बाक्लो बस्ती रहेको छ। पर्यटकलाई लक्षित गरी स्थानीयले होमस्टे सेवा सञ्चालनसमेत गरिरहेका छन्।
होमस्टे सञ्चालक नरबहादुर सुनुवारका अनुसार बास, स्थानीय परिकार र ग्रामीण जीवनशैलीको अनुभव गराउने व्यवस्था भए पनि पर्यटकको संख्या अपेक्षाकृत कम छ। उहाँले प्रचारप्रसार र पूर्वाधार विस्तार भए स्थानीयको आयआर्जनमा उल्लेखनीय वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
यसरी पुग्न सकिन्छ
जिल्ला सदरमुकाम ओखलढुङ्गाबाट कटुञ्जेको कोषहाट हुँदै ककनी गाउँसम्म जिप वा मोटरसाइकलमा करिब तीन घण्टामा पुग्न सकिन्छ। त्यहाँबाट पैदल यात्रा गर्दै पहिलो र दोस्रो झरनासम्म सहज रूपमा पुग्न सकिन्छ भने तेस्रो झरनाका लागि सुरक्षित पदमार्ग निर्माण आवश्यक देखिन्छ।
प्राकृतिक सुन्दरता, धार्मिक आस्था, स्थानीय संस्कृति र होमस्टेको अनुभव एकै स्थानमा लिन सकिने सम्भावना बोकेको तीनछाँगे झरना आवश्यक पूर्वाधार, प्रभावकारी प्रचारप्रसार र पर्यटकीय योजनाको पर्खाइमा रहेको स्थानीयवासीको भनाइ छ।
उचित लगानी र व्यवस्थापन हुन सके यो क्षेत्र ओखलढुङ्गाको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्ने प्रबल सम्भावना रहेको छ। (रासस)




प्रतिक्रिया राख्नुहोस्