अर्थ

प्रत्येक नेपालीको भागमा ९२ हजार १५ रुपैयाँ ऋणभार

केही दिन अघि मात्र नेपाल राष्ट्र बैंकले गत आर्थिक वष २०८१।०८२ को आर्थिका तथ्यांक सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्रका सूचकहरु बलियो बन्दै गएको बताइरहँदा सरकार पहिलो महिनादेखि नै ऋण उठाउने धुनमा लागेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो महिना (साउन)मै ४४ अर्ब ५७ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउनमा सरकारले ४० अर्ब आन्तरिक र ४ अर्ब ५७ करोड वाह्य ऋण लिएको हो । अब मुलुककको आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब पुगेको छ । बाह्य ऋण १४ खर्ब २ अर्ब पुगेको छ ।

साउन महिनामा लिइएको ऋण सहित जम्मा सार्वजनिक ऋण दायित्व २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ । यो कुल गार्हस्थ उत्पादन (जीडीपी)को तुलनामा ४३.९४ प्रतिशत हाराहारी हो ।

सार्वजनिक ऋणलाई प्रतिव्यक्ति ऋणभारमा हेर्दा ९२ हजार १५ रुपैयाँ पुग्ने देखिएको छ । असार मसान्तसम्म प्रतिव्यक्ति ऋणभार ९१ हजार ५ सय ३४ रुपैयाँ थियो ।

कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ ले भाग लगाउँदा उक्त ऋणभार पुग्ने देखिएको हो ।

संविधान जारी भएर नयाँ व्यवस्थासहितको शासन पद्धति सुरु भएपछि नेपालको ऋण बढेको देखिन्छ । आव २०७३।०७४ देखि २०८०/०८१ बीचमा सार्वजनिक ऋण वृद्धिदर औसत १९ प्रतिशत रहेको देखिन्छ । २०७६/०७७ को एक वर्षमा मात्र ऋण ३६.७ प्रतिशतले बढेको थियो ।

आव २०७३/०७४ मा सार्वजनिक ऋण जीडीपीको २२.७ प्रतिशत रहेकोमा २०८१/०८२ सम्म ४३.७१ प्रतिशत पुगेको छ । २०७२/०७३ मा ६ खर्ब २३ अर्बमात्र रहेको सार्वजनिक ऋण पछिल्लो एक दशकमा चार गुणाले वृद्धि भएको देखिएको छ ।

ऋण बढ्दै गए पनि चालू आर्थिक वर्षका लागि पारित भएको बजेट नै घाटामा रहेको हुँदा सरकारले यस वर्ष ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । यसमध्ये आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब र वाह्य ऋण २ खर्ब ३३ अर्ब उठाउने लक्ष्य छ ।

सोही अनुसार साउन महिनादेखि नै ऋण उठाउन सुरु गरेको हो । तर, पूँजीगत खर्चमा सुस्ता, सुशासनको कमी, लगानीको अभावका कारण बाह्य ऋण उठ्न छाडेको छ ।

महिनैपिच्छे ऋण उठाइरहनुपर्ने बाध्यताकाबीच मुलुकको बजेटको ठूलो हिस्सा ऋणकोा सावा र ब्याज तिर्न खर्च हुने गरेको छ । पूँजीगत खर्चभन्दा धेरै बजेट ऋणतिर्न विनियोजित हुने गरेको छ ।

सरकारले चालु आवमा ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ सार्वजनिक ऋण सेवा खर्चमा विनियोजन गरेको छ भने पूँजीगत खर्च अर्थात् विकास निर्माणका लागि ४ खर्ब सात अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.