जन सरोकार

बाढी प्रभावितको उद्धार र राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

बिहीबार राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिका अध्यक्ष डा सुमन दाहालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सहयोगस्वरुप रु तीन करोडको चेक हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति थियो ।

भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण कयौँ मानिस हराइरहेका छन् भने प्रभावित अझै पनि उद्धार एवं राहतको पर्खाइमा रहेका छन् ।

बाढीबाट प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकप्रति राष्ट्रिय वाणिज्य बैङ्क परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साथै, सम्पर्कविहीन र घाइतेहरूको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैङ्कले गहिरो समवेदना व्यक्त गरेको छ । बैङ्कले विगतमा पनि राष्ट्रिय विपदका घटनाबाट प्रभावितहरुलाई राहत उद्धार र पुनस्र्थापनाका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.