अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
अमेरिकाले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नेपालका लागि सुरुमै ५ लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो।
त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित एक समारोहपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न अमेरिका तत्पर रहेको बताउनुभएको हो। उक्त समारोहमा उहाँले लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो।
“नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसी न्यूजले जनाएको छ।
राष्ट्रपति ट्रम्पले भोटेकोशी बाढीबाट नेपालमा भएको जनधनको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएको बताउनुभएको छ। उहाँका अनुसार बाढीबाट प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहतका प्रयास र तत्काल आवश्यक सहयोगबारे सम्बन्धित अधिकारीहरूसँग छलफल भएको थियो।
प्राकृतिक विपद्का कारण प्रभावित नेपाली नागरिकप्रति सहानुभूति व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको जानकारी दिनुभएको एनबिसी न्यूजले उल्लेख गरेको छ।
भोटेकोशी क्षेत्रमा आएको बाढीले स्थानीय बासिन्दाको जनजीवन प्रभावित हुनुका साथै सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा क्षति पुगेको बताइएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्य सञ्चालन भइरहेका छन् भने क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कामसमेत जारी रहेको छ।
नेपालमा विपद् व्यवस्थापन, मानवीय सहायता तथा पुनःस्थापनाका क्षेत्रमा अमेरिकाले विगतदेखि नै सहयोग गर्दै आएको छ। राष्ट्रपति ट्रम्पले आवश्यक पर्ने थप सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो। उहाँको पछिल्लो प्रतिबद्धताले भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय सहयोग जुटाउन थप सहज हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया राख्नुहोस्