परराष्ट्रमन्त्री खनालसँग मलेसिया र सिङ्गापुरका विदेशमन्त्रीको टेलिफोन वार्ता
परराष्ट्रमन्त्री शिशिर खनालसँग मलेसिया र सिङ्गापुरका विदेशमन्त्रीले आज छुट्टाछुट्टै टेलिफोन वार्ता गर्दै बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ।
उहाँहरूले नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउँदै आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन आफ्नो देश तयार रहेको बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मलेसियाका विदेशमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनले परराष्ट्रमन्त्री खनालसँगको वार्तामा नेपालको पहिचान भएका आवश्यकताका आधारमा थप सहयोग उपलब्ध गराउन मलेसिया सरकार तयार रहेको बताउनुभयो।
त्यसै गरी, सिङ्गापुरका विदेशमन्त्री डा. भिभियन बालकृष्णनले विपद्पछिको खोज, उद्धार तथा राहत व्यवस्थापनमा नेपाली निकायहरूले समन्वयात्मक र प्रभावकारी ढङ्गले काम गरेको भन्दै प्रशंसा गर्नुभयो।
उहाँले नेपालको आवश्यकताअनुसार मानवीय सहायता उपलब्ध गराउन सिङ्गापुर सरकार तयार रहेको जानकारी दिँदै खोज तथा राहत कार्यमा सहयोग पुर्याउन विपद् पीडित पहिचान टोली र ड्रोन उपलब्ध गराउने तयारी भइरहेको बताउनुभयो।
दुवै विदेशमन्त्रीसँगको वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्पछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउँदै बेपत्ता व्यक्तिको खोजीकार्य निरन्तर जारी रहेको बताउनुभयो।
उहाँले विपद्को कठिन घडीमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकामा मलेसिया तथा सिङ्गापुर सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गर्नुभयो।
मन्त्री खनालले विपद्बाट प्रभावित मलेसियाली नागरिकका सम्बन्धमा प्रमाणित तथा आवश्यक सूचना समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौँस्थित मलेसियाली दूतावाससँग निकट समन्वय गर्ने आश्वासनसमेत दिनुभएको मन्त्रालयले जनाएको छ।
रसुवाको भोटेकोशी तथा रसुवा, नुवाकोटलगायतका क्षेत्रमा यही भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला यी टेलिफोन वार्ता भएका हुन्।




प्रतिक्रिया राख्नुहोस्