विपद्मा मन फुकाउँदै मधेस
‘पहाडलाई घाउ लागे मधेसलाई दुख्नुपर्छ,
मधेसलाई ठेस लागे हिमालले झुक्नुपर्छ ।’
नेपाली राष्ट्रिय भावना मुखरित गर्ने यी पङ्क्ति यतिबेला मधेसको महोत्तरीमा चरितार्थ हुँदैछ । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ चितवनसम्मका बासिन्दाको पीडामा मलहम लगाउन मधेसको महोत्तरीमा सहयोग सङ्कलन तीव्र रुपमा अगाडि बढेको छ ।
बाढीको कहरबाट कैयौँ घरपरिवार उजाडिएको खबरबाट चिन्ताले छटपटिएकी महोत्तरीको बर्दिबास–१ की ७५ वर्षीया वृद्धा देवकुमारी पौडेलले मन थाम्न सक्नुभएन । बाढीपीडितको राहत उद्धार पुनःस्थापनामा आफ्नो थोरै योगदान होस् भनेर उहाँले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु २० हजार जम्मा गर्नुभयो ।
सामान्य आर्थिक अवस्थाकी पौडेलले घर नजिकै महिला उत्थान बहुद्देश्यीय सहकारी संस्थामा बुढ्यौलीको सहारा भनेर जम्मा गर्नुभएको ज्येष्ठ नागरिक बचत खाताबाट निकालेर आइतबार नै उक्त रकम कोषमा जम्मा गर्नुभएको हो ।
“बुधबारयता दिनदिनै बाढीको पीडाका खबर सुन्दैछु, बाढीपीडितलाई उद्धार गर्न ठाउँठाउँबाट सहयोग पुग्न थालेको सुनेँ, यसमा म पनि जोडिनुपर्छ भन्ने लाग्यो”, उहाँले भन्नुभयो, “आफू त रकम पठाउन जान्दैनथे, छोरालाई पठाउन लगाएँ ।”
आफूजस्तै सबैले पठाएका रकम दुःखमा परेका परिवारमा बिना भेदभाव पुगोस् भन्ने उहाँको सदीक्षा छ । ७५ वर्षीया वृद्धाको यो कार्यसँगै छिमेकीले पनि आफूले सकेको रकम धमाधम पठाउन थाले ।
“यति रकमले के हुन्छ र भन्ने होइन, थोपाथोपा मिलेर समुद्र बनेजस्तै त हो नी ! सबैले यो आपतमा आफूले सकेको गर्नुपर्छ”, पौडेल सबैलाई प्रेरित गर्दै भन्नुहुन्छ, “दुई चार जनाको घाउमा मलहम त पुग्छ नी !” यस अभियानले महोत्तरीको बर्दिबासमा उद्धार कोषमा रकम पठाउने लहर नै चलेको छ ।
आइतबार नै बर्दिबास–१ कै व्यवसायी तथा योग प्रशिक्षक सुमित्रा भट्टराईले कोषमा ५१ हजार दाखिला गर्नुभएको छ । “यो सहयोग प्रचारका लागि हैन, मलहमका लागि हो”, भट्टराई भन्नुहुन्छ, “तर कोषमा रकम दिन आमजनतालाई उत्प्रेरित गर्न मैले सहयोग रक सार्वजनिक गरेकी हुँ । यो अभियानले सहयोग गर्नेहरु बढ्ने उहाँको विश्वास छ ।”
नभन्दै आइतबार नै बर्दिबास–१ स्थित देउराली कीर्तन महिला समूहले तीजको दर खान भनेर जम्मा गरेको रु ३० हजार रकम पठाएका छन् । “चाडपर्व त खुसीमा न हो, मुलुक रोएका बेला छ, त्यसैले थोरै भए पनि रकम पठायौँ”, समूहकी अध्यक्ष अप्सरा रिसालले भन्नुभयो ।
यसैगरी आइतबार नै बर्दिबास–१० खयरमाराका सामाजिक अगुवा पोषण थापाले कोषमा रु ५० हजार पठाउनुभयो । हिमाली जिल्ला रसुवा हुँदै नुवाकोट, धादिङ, गोर्खा, तनहुँ र चितवनसम्म ताण्डव मच्चाएको यो बाढीले पहाड ध्वस्त बनाएको खबर सुनेर मधेसमा छटपटी बढेको छ ।
“बाढीले पाहाडमात्र भत्काएको छैन, मधेसका कैयौँ घरमा पारिवारिक बिछोडको वेदना दिएको छ”, उद्धार कोषमा रु ५० हजार जम्मा गर्नुभएका थापा भन्नुहुन्छ, “यो दुःखमा सम्पूर्ण नेपाली एक छौँ भन्ने सन्देश काम र व्यवहारबाट हामी सबैले देखाउनुपर्छ ।”
महोत्तरीमा उद्धार कोषमा रकम पठाउन अहिले व्यवसायी, उद्यमी, सर्वसाधारण सक्रिय भएका छन् । यो अभियानमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले आइतबार रु ११ लाख ७९ हजार जम्मा गरेको छ ।
“हामीले यो दुःखमा मधेस साथ छ भन्ने सन्देश प्रवाह गर्न चाहेका हौँ, मधेसका विभिन्न होटलबाट प्राप्त रकम कोषमा पठाएका छौँ”, महासङ्घका मधेस प्रदेश अध्यक्ष हिरालाल गौतम भन्नुहुन्छ, “यो दुःखका बेला हामी सबै राहत उद्धार कार्यमा सरकारका साथ छौँ ।”
यसैगरी, बर्दिबास उद्योग वाणिज्य सङ्घले उद्यमी/व्यापारीबाट सङ्कलित रु आठ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको छ । यस्तै जिल्लाका स्थानीय तहहरुले पनि संस्थागत निर्णय गरेर धमाधम कोषमा रकम पठाएका छन् ।
भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले कोषमा रु १५ लाख दाखिला गरी सकेको छ । यसैगरी गौशाला, बर्दिबास र औरही नगरपालिकाले संस्थागत निर्णय नै गरेर क्रमशः १० लाख, १२ लाख ५० हजार र पाँच लाख रुपैयाँ कोषमा पठाएका छन् । कोषमा रकम पठाएर सार्वजनिक नगर्नेको सङ्ख्या पनि उल्लेख्य छ ।
आपतविपतका बेला हिमाल, पहाड र तराई जहाँका भए पनि नेपाली मन अत्यन्त कोमल र सहयोगी भावको रहेको जलेश्वर–७ बखरीका बासिन्दासमेत रहनुभएका पूर्वप्रशासक महेश्वर रायको धारणा छ । अहिले यहाँ बाढीपीडितका लागि जारी राखिएको सहयोग अभियान कोमल नेपाली मनको उदाहरण भएको रायको भनाइ छ ।
आमरुपमा सहयोग गर्ने चासो ठाउँठाउँमा देखिएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षताको जिल्ला विपद् व्यस्थापन समितिले राहत सङ्कलनलाई व्यवस्थित र पारदर्शी बनाएको छ ।
“हामीले कहाँ कसले जिन्सी नगद के सहयोग गर्न चाहन्छन् ? ठाउँठाउँमै सङ्कलन अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ”, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्नुहुन्छ, “प्राप्त सहयोगको व्यक्तिगत अभिलेख बनाएर नगद कोषमा जम्मा गर्ने र जिन्सी सरकारले सञ्चालन गरेको राहत वितरण केन्द्रमा पुर्याइनेछ ।” यो सहयोगको विवरण साप्ताहिक रुपमा सार्वजनिक गरिने उहाँको भनाइ छ ।
यसअघि शुक्रबार नै महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोको समन्वयमा बर्दिबास, गौशाला र भङ्गाहामा सर्वसाधारणबाट सङ्कलित खाद्यसामग्री (चामल, चिउरा, भुजासहित) नुवाकोट पठाइएको छ ।




प्रतिक्रिया राख्नुहोस्