भारतीय अभिनेता सोनू सूद भोटेकोशी बाढीपीडितका लागि राहत लिएर नेपालमा
भारतीय चलचित्र अभिनेता तथा समाजसेवी सोनू सूद भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर मङ्गलबार नेपाल आइपुग्नुभएको छ।
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि अभिनेता सूदले प्रभावित नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सोही प्रतिबद्धताअनुसार उहाँ राहत सामग्रीसहित नेपाल आइपुग्नुभएको हो।
बाढी लगत्तै सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै उहाँले नेपालप्रति ऐक्यबद्धता जनाउनुभएको थियो। उहाँले “नेपाल, तपाईं एक्लो हुनुहुन्न। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक सहयोग लिएर आउनेछौँ” भन्दै प्रभावित नागरिकको घाउमा मलम लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
अभिनेता सूद कोभिड–१९ महामारीका बेला भारतभर हजारौँ अलपत्र श्रमिकलाई आफ्नै खर्चमा घर फर्काउने अभियानका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चित हुनुभएको थियो।
उहाँले लाखौँ श्रमिकका लागि निःशुल्क यातायातको व्यवस्था गर्नुका साथै उपचार, शिक्षा, रोजगारी तथा आर्थिक सहयोगका विभिन्न मानवीय अभियान सञ्चालन गर्नुभएको थियो।
महामारीपछि पनि उहाँले स्वास्थ्य उपचार, छात्रवृत्ति, विपन्न परिवारको आवास निर्माण तथा प्राकृतिक विपद्का बेला राहत वितरणजस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै आउनुभएको छ।
नेपालसँग पनि उहाँको आत्मीय सम्बन्ध रहँदै आएको छ। विभिन्न मानवीय अभियानमा नेपाली नागरिकलाई समेत सहयोग गर्दै आउनुभएका सूदले भोटेकोशी बाढीपछि ढिलाइ नगरी सहयोगको घोषणा गर्नुभएको थियो।
उहाँको नेपाल आगमनलाई विपद्को कठिन घडीमा नेपाली नागरिकप्रति अन्तर्राष्ट्रिय सद्भाव र मानवीय ऐक्यबद्धताको प्रतीकका रूपमा हेरिएको छ।
उहाँले नेपाल बसाइका क्रममा सरकारी निकायसँग समन्वय गरी राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्याउने तथा बाढीपीडितसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।




प्रतिक्रिया राख्नुहोस्