जापानले यही भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोपछि नेपाललाई थप मानवीय सहयोग उपलब्ध गराउने भएको छ।
मंगलबार जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले प्रधानमन्त्री बालेन्द्र शाहसंग गर्नुभएको टेलिफोन वार्तामा सो कुराको जानकारी दिनुभएको हो ।
टेलिफोन वार्तामा प्रधानमन्त्री ताकाइचीले बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित नागरिकप्रति समवेदना प्रकट गर्नुभएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उहाँले प्राकृतिक विपद्को उच्च जोखिममा रहेका नेपाल र जापानबीचको लामो मित्रवत् सम्बन्ध स्मरण गर्दै यस कठिन घडीमा जापान नेपालसँग दृढतापूर्वक उभिएको बताउनुभयो।
उहाँले हालसम्म सम्पर्कविहीन रहेका पाँच जापानी नागरिकको खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकतामा राखी आवश्यक सहयोग गर्न प्रधानमन्त्री शाहसँग अनुरोध गर्नुभएको छ।
प्रधानमन्त्री ताकाइचीले नेपालका लागि घोषणा गरिएका त्रिपाल, ब्ल्याङ्केटलगायतका आपत्कालीन राहत सामग्री छिट्टै नेपाल पठाइने जानकारी दिनुभयो।
साथै, अन्तर्राष्ट्रिय संस्थामार्फत थप मानवीय सहायता उपलब्ध गराउने तथा जापानबाट अन्तर्राष्ट्रिय आपत्कालीन राहत टोली नेपाल पठाउने तयारी भइरहेको जानकारी पनि उहाँले गराउनुभएको जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ।
वार्तामा प्रधानमन्त्री शाहले बाढीपहिरोबाट भएको जनधनको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारले गरिरहेको प्रयासबारे जानकारी गराउनुभएको थियो।
उहाँले विपद्को यस कठिन घडीमा नेपालप्रति सहानुभूति, ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा जापान सरकार तथा जापानी जनताप्रति आभार व्यक्त गर्नुभएको जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया राख्नुहोस्