राजनीति

सरकारलाई कांग्रेस नेता आङ्देम्बेको आग्रह- ‘यो प्रचार होइन, प्राण बचाउने समय हो’

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता नागरिकको खोज तथा उद्धारलाई तीव्र बनाउन, प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा विस्थापितलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

उहाँले उद्धार र राहतसँगै पुनःस्थापना तथा पुनर्निर्माणका कामलाई समेत स्पष्ट कार्ययोजनासहित अघि बढाउनुपर्ने बताउनुभएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता आङ्देम्बेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्नुभयो।

उहाँले यस्तो विपत्तिको सामना राजनीतिक आरोप–प्रत्यारोपबाट नभई राष्ट्रिय एकता, समन्वय र सामूहिक प्रयासबाट गर्नुपर्नेमा जोड दिनुभयो।

“यो प्रचार गर्ने समय होइन, प्राण बचाउने समय हो। यो दोषारोपण गर्ने समय होइन, जिम्मेवारी पूरा गर्ने समय हो। यो राजनीतिक सङ्ख्या खोज्ने समय होइन, राष्ट्र एक भएर नागरिकको जीवन जोगाउने समय हो,” उहाँले भन्नुभयो।

नेता आङ्देम्बेले बाढीपछि बेपत्ता भएका नागरिकको खोजीलाई कुनै पनि हालतमा सुस्त हुन दिन नहुने बताउँदै कठिन भौगोलिक क्षेत्रमा फसेका तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म राज्यको पहुँच पुर्‍याउन उपलब्ध सबै साधन र प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो।

विशेषगरी सुरुङ तथा जोखिमपूर्ण संरचनाभित्र फसेका नागरिकको खोज तथा उद्धारमा प्रभावकारी संयन्त्र परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो। विगतका भूकम्पलगायत ठूला विपद्का समयमा भएका खोज तथा उद्धारका अनुभवबाट सिकेर अहिलेको उद्धार अभियानलाई थप व्यवस्थित बनाउनुपर्ने उहाँले बताउनुभयो।

“उद्धारको प्रतीक्षामा रहेका परिवारको क्रन्दन सरकारले सुन्नुपर्छ। बेपत्ताको खोजी, शवको पहिचान र व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ,” उहाँले भन्नुभयो।

उहाँले सङ्घीय सरकारको नेतृत्वमा प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, स्वयंसेवक तथा स्थानीय समुदायबीच प्रभावकारी समन्वय कायम गरी विपद्को सामना गर्नुपर्ने बताउनुभयो। सीमित स्रोत–साधनका कारण उद्धार तथा राहतमा कठिनाइ भए आवश्यकताअनुसार निजी क्षेत्र, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग परिचालन गर्नुपर्ने उहाँको सुझाव थियो।

राहत वितरणमा पारदर्शिता र सहजीकरण सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै नेता आङ्देम्बेले वास्तविक पीडितको पहिचान गरी राहत पहुँच पुर्‍याउन तथा विस्थापित परिवारका लागि सुरक्षित आवास, खाद्यान्न, स्वास्थ्य उपचार, खानेपानीलगायत आधारभूत आवश्यकताको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।

उहाँले तत्कालीन उद्धार तथा राहतपछि पुनःस्थापना र पुनर्निर्माणलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। बाढीबाट सडक, पुल, जलविद्युत्, विद्युत् प्रसारण, खानेपानी, सञ्चार तथा अन्य सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको वैज्ञानिक मूल्याङ्कन गरी दीर्घकालीन पुनर्निर्माण योजना बनाउनुपर्ने उहाँको भनाइ थियो।

विपद् व्यवस्थापनको समग्र अवस्थाको अनुगमन, सरकारका काममा आवश्यक मार्गनिर्देशन तथा भविष्यका लागि नीतिगत सुधार गर्न संसद्को उच्चस्तरीय विशेष समिति गठन गर्नसमेत नेता आङ्देम्बेले माग गर्नुभयो। यस्तो समितिले तत्कालीन विपद् व्यवस्थापनदेखि दीर्घकालीन पुनःस्थापना, पुनर्निर्माण तथा विपद् जोखिम न्यूनीकरणका कामको अध्ययन गर्न सक्ने उहाँको भनाइ थियो।

उहाँले सरकारलाई समर्थन गर्नुको अर्थ सरकारका सबै कमजोरीलाई आँखा चिम्लेर स्वीकार गर्नु नभएको स्पष्ट पार्नुभयो।

“विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै गल्ती माफ भन्ने होइन। राम्रो काम गर्छ भने साथ र समर्थन छ, बाटो बिराउँछ भने खबरदारी र प्रश्न छ। खास सहयोग यही होइन र ?” उहाँले प्रश्न गर्नुभयो।

नेता आङ्देम्बेले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीलाई असाधारण प्रकृतिको विपत्ति भन्दै क्षतिको व्यापकता र तीव्रताले आफूहरूलाई स्तब्ध बनाएको बताउनुभयो। उहाँले सम्भवतः छोटो समयमै यति ठूलो मानवीय तथा भौतिक क्षति नेपालले भोग्नुपरेको घटनाका रूपमा यसलाई लिनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले विपद्को समयमा अग्रपङ्क्तिमा रहेर खोज तथा उद्धार, सुरक्षा, उपचार र राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, प्राविधिक विज्ञ, स्वास्थ्यकर्मी तथा स्वयंसेवकप्रति धन्यवाद र सम्मान व्यक्त गर्नुभयो।

यसैगरी देशभित्र तथा विदेशमा रहेका नेपालीबाट प्राप्त सहयोग र अन्तर्राष्ट्रिय समुदायबाट व्यक्त ऐक्यबद्धताप्रति पनि उहाँले आभार व्यक्त गर्नुभयो।

नेता आङ्देम्बेले विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले पूर्वतयारीलाई राज्यको नियमित प्राथमिकता बनाउनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसले यसअघि पनि संसद्मार्फत विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा आपत्कालीन उद्धार क्षमता सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको उहाँले स्मरण गराउनुभयो।

कांग्रेसले विपद्को सुरुआतदेखि नै सत्तापक्ष र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर राष्ट्रिय विपद्का रूपमा सामना गर्नुपर्ने धारणा राख्दै आएको उहाँले बताउनुभयो। बाढीपछि आफूहरूले प्रधानमन्त्री शाहलाई भेटेर तत्काल गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराएको तथा पार्टीको केन्द्रीय तहबाट तत्काल बैठक गरी पार्टी पङ्क्तिलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो।

सर्वदलीय बैठकमा कांग्रेस सभापति गगनकुमार थापाले सरकारका उद्धार तथा राहत प्रयासमा पार्टीको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि नेता आङ्देम्बेले बताउनुभयो। कांग्रेस सभापति थापा स्वयं बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी फर्किनुभएको उल्लेख गर्दै उहाँले त्यहाँको वास्तविक अवस्था, पीडा, आक्रोश र नागरिकका गुनासा सरकारसमक्ष पुर्‍याइएको जानकारी दिनुभयो।

आफू पनि प्रभावित क्षेत्रमा पुगेर फर्किएपछि प्रधानमन्त्री शाहलाई भेटी नौबुँदे ध्यानाकर्षण गराएको तथा सभामुखलाई भेटेर संसद् बैठक तत्काल बोलाई विपद्का विषयमा गम्भीर छलफल गर्न आग्रह गरेको उहाँले बताउनुभयो।

नेता आङ्देम्बेले कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको जानकारी दिँदै पार्टीको सम्पूर्ण पङ्क्तिलाई उद्धार, राहत तथा पुनःस्थापनामा परिचालन गरिएको बताउनुभयो।

उहाँले विपद्को यस कठिन घडीमा राजनीतिक दल, सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिक सबैको साझा दायित्व रहेको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत र भरोसा दिलाउन एकजुट भएर काम गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.