काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ ।
वर्षाद्को समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको रुट कायम गरिएको छ ।
त्यस्तै, हेटौँडाबाट काठमाडौँ छुट्ने साना सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ प्रवेश गर्नेछन् । यसै गरी, ठूला तथा मालवाहक सवारी काठमाडौँबाट चापागाउँ–भट्टेडाँडा–ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन् । उक्त रुट प्रयोग गर्ने सवारीले साँझ ६ः०० बजेभित्र ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।
हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैँसे–पालुङ–टिस्टुङ–नौबिसे हुँदै काठमाडौँ आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्याङ्कर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
भारी मालवाहक सवारीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।




प्रतिक्रिया राख्नुहोस्