सुरुङमा अझै जीवित हुन सक्छन्, खोजी नरोकियोस् : राप्रपा नेता शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सम्पूर्ण राजनीतिक दल, सरकार, सुरक्षा निकाय, नागरिक समाज र आम नागरिक एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा दलीय आधारमा धारणा राख्दै उहाँले राष्ट्रिय विपत्तिका बेला आरोप–प्रत्यारोप र राजनीतिक विवादमा अल्झिनुभन्दा नागरिकको जीवनरक्षा र प्रभावित परिवारलाई राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
“यो राजनीति गर्ने समय होइन, पीडित नागरिकको जीवन बचाउने समय हो। सबै मिलेर उद्धार, राहत र पुनःस्थापनामा जुट्नुपर्छ,” उहाँले भन्नुभयो।
नेता शाहीले आफ्नो पार्टीले विपद्को सुरुदेखि नै खोज, उद्धार र राहत अभियानमा सरकारलाई रचनात्मक सहयोग गरिरहेको उल्लेख गर्दै राष्ट्रिय विपत्तिको सामना गर्दा सरकारलाई आवश्यक सहयोग गर्न राप्रपा प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले विपद् व्यवस्थापनमा सरकारको नेतृत्वदायी भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै राज्यका सबै उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्न सरकार अग्रसर हुनुपर्ने बताउनुभयो।
संविधान र कानुनअनुसार कार्यकारी अधिकार सरकारसँग भएकाले खोज, उद्धार, राहत तथा पुनःस्थापनाको सम्पूर्ण संयोजन सरकारले प्रभावकारी रूपमा गर्नुपर्ने उहाँको भनाइ थियो।
“राज्यका स्रोत–साधन परिचालन गर्ने अधिकार र जिम्मेवारी सरकारसँग छ। त्यसैले सरकार अग्रपङ्क्तिमा उभिएर सबै निकायलाई समन्वय गर्दै काम गर्नुपर्छ,” उहाँले भन्नुभयो।
शाहीले सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग थप प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिनुभयो। प्रभावित क्षेत्रका स्थानीय तह, जनप्रतिनिधि तथा समुदायसँग प्रत्यक्ष समन्वय गरी उद्धार र राहतलाई छिटो तथा प्रभावकारी बनाउनुपर्ने उहाँको धारणा थियो।
उहाँले विपद्को समयमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त हुने प्राविधिक तथा मानवीय सहयोगलाई पनि आवश्यकताअनुसार परिचालन गर्न सरकारलाई आग्रह गर्नुभयो।
विशेष परिस्थितिमा आधुनिक उपकरण, प्राविधिक जनशक्ति र अन्तर्राष्ट्रिय अनुभवको उपयोग गर्न हिच्किचाउन नहुने उहाँले बताउनुभयो।
नेता शाहीले बाढी प्रभावित क्षेत्रमा सुरुङभित्र तथा जोखिमयुक्त स्थानमा अझै नागरिक जीवित हुन सक्ने सम्भावनालाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
“सुरुङभित्र अहिले पनि जीवित व्यक्ति हुन सक्ने सम्भावना छ। त्यसैले यस क्षेत्रमा अनुभव भएका विज्ञ, प्राविधिक र सम्बन्धित निकायको सहयोग लिएर खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउनुपर्छ,” उहाँले भन्नुभयो।
उहाँले कठिन भूगोलका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि आधुनिक प्रविधि, ड्रोन, विशेष उपकरण तथा विशेषज्ञ टोलीको अधिकतम प्रयोग गरेर बेपत्ता नागरिकको खोजीलाई तीव्र बनाउनुपर्ने सुझाव दिनुभयो।
शाहीले विपद्पछि राहत वितरण पारदर्शी, प्रभावकारी र वास्तविक पीडितसम्म पुग्ने व्यवस्था मिलाउनुपर्ने बताउँदै विस्थापित परिवारको अस्थायी बसोबास, खाद्यान्न, स्वास्थ्य सेवा तथा आधारभूत आवश्यकताको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।
उहाँले बाढीबाट सडक, पुल, विद्युत्, खानेपानी, सञ्चार तथा अन्य सार्वजनिक पूर्वाधारमा पुगेको क्षतिको शीघ्र मूल्याङ्कन गरी पुनःस्थापना र पुनर्निर्माणका कामलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
नेता शाहीले राष्ट्रिय विपत्तिका बेला सरकार, राजनीतिक दल, सुरक्षा निकाय, निजी क्षेत्र, स्वयंसेवी संस्था तथा अन्तर्राष्ट्रिय समुदायबीच प्रभावकारी समन्वय कायम गरेर मात्रै प्रभावित नागरिकलाई शीघ्र राहत र दीर्घकालीन पुनःस्थापनाको अनुभूति दिलाउन सकिने बताउनुभयो।




प्रतिक्रिया राख्नुहोस्