जन सरोकार

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ र मालिका गाउँपालिका–६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिने भएको छ ।

दुखुखोलामा आएको बाढीले पुलको संरचनामा क्षति पुर्याएको थियो । पुल भासिने जोखिम बढेपछि बढी तौल भएका सामान बोकेका ठूला गाडी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले सरकारी प्रक्रियाबाट ढिलाइ हुने भएकाले जलविद्युत् आयोजनाको रु ५० लाख लगानीमा पुल संरक्षणको काम सुरु भएको जानकारी दिनुभयो ।

“पुलको जोखिमका कारण निर्माणकार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसिनका जलविद्युत् आयोजनाले साझेदारी गरेर संरक्षणको काम गर्ने सहमति जनाएका छन्”, उहाँले भन्नुभयो, “पुल संरक्षणको अवधिसम्म ठूला गाडी सञ्चालनको आवश्यक व्यवस्था मिलाउन स्थलगत अध्ययन गरिएको छ ।”

पुलको जग मुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएकाले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल जुनसुकै बेला भासिएर दुर्घटना हुने जोखिम छ । पुलमा समस्या आए मालिका, धवलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग सिधा यातायात सम्पर्क टुट्छ ।

कुल ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ तथा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले साझेदारीमा पुल मर्मत गर्न सहमति जनाएका छन् ।

दुखुखोला पुल र फापरखेतको पहिरोका कारण जलविद्युत् आयोजनामा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको छ । सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले २० मिटर लामो र छ मिटर फराकिलो पुल निर्माण गरेको हो ।

रु दुई करोड छ लाखमा २०७६ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको पुल केही दिन पहिलेको बाढीका कारण समस्यामा परेको हो ।

मालिकाधुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो । पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरेर खोला डाइभर्सन गर्ने र पर्खाल बनाएर पुलको पिलर तथा पहुँचमार्गको अस्थायी संरक्षण गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.