जन सरोकारबिशेष

टनेलभित्र आवाज सुनिएपछि उद्धारमा आशा बढ्यो, इञ्जिनियरिङ चरण ऐतिहासिक रूपमा सफल

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ध्वस्त भएकोत्रिशूली–तीन ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्य अन्तिम चरणमा पुगेको छ।

उद्धार टोलीले सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि गरेपछि सुरुङबाहिर चिकित्सकसहितको स्वास्थ्य टोली तथा नेपाली सेनाको हेलिकोप्टरलाई समेत तयारी अवस्थामा राखिएको जनाइएको छ।

उद्धार कार्यमा सक्रिय रास्वपाका सांसद तथा इञ्जिनियर सागर ढकालले सुरुङसम्म पुग्ने इञ्जिनियरिङ कार्य सफलतापूर्वक सम्पन्न भएको र अब उद्धार टोलीको जिम्मेवारी थप महत्वपूर्ण बनेको बताउनुभएको छ।

उहाँले भन्नुभयो, “अब सुरुङभित्रबाट आवाज सुनिएको छ। इञ्जिनियरिङको काम सकिएको छ, अब उद्धार टोलीको काम अगाडि छ। इञ्जिनियरिङ हिसाबले यो ऐतिहासिक सफलता हो। करिब आठ दिनको अथक प्रयासपछि बीस हजार घनमिटरभन्दा बढी लेदो र ढुंगा हटाउन सफल भएका छौँ। यति ठूलो पहिरो हाम्रो विद्यमान उपकरण प्रयोग गरेर हटाउनु आफैंमा असाधारण उपलब्धि हो। धेरै ठाउँमा उपकरणको अभाव भयो, सकिँदैन भनेर सुनिँदै आएको थियो, तर हामीले गरेर देखाएका छौँ। हामीले केवल सल्लाह दिएका होइनौँ, काम गरेर परिणाम देखाएका हौँ।”

उहाँका अनुसार उद्धार अभियानका आठ दिन अत्यन्त चुनौतीपूर्ण रहे। दोस्रो दिन राति करिब एघार बजे वरिष्ठ प्राविधिक श्रीराम सरको पन्ध्र किलोमिटर सुरुङ निर्माणको अनुभव आवश्यक ठहरिएपछि बिहान करिब पाँच बजे घटनास्थलतर्फ प्रस्थान गरिएको थियो। त्यसैगरी करिब दुई हजार स्थानमा ड्रिलिङको अनुभव भएका उदय सरलाई पनि टोलीमा सहभागी गराइएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले प्राप्त अनुभव आगामी उद्धार अभियान तथा भविष्यमा आइपर्ने विपद् व्यवस्थापनमा उपयोग गरिने विश्वास व्यक्त गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल विद्युत् प्राधिकरण, स्थानीयवासी तथा नेपालभित्र र बाहिरबाट सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो।

यसै गरी उद्धारकार्यमा सक्रिय रास्वपाका अर्का सांसद तथा इञ्जिनियर श्रीराम न्यौपानेले उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिलाई “नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ” भनेपछि भित्रबाट “हुन्छ” भन्ने प्रतिक्रिया आएको जानकारी दिंदै खुसी व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिनु र उद्धार टोलीको कुरामा प्रतिक्रिया आउनुले हामीलाई थप उत्साहित बनाएको छ।”

सुरुङभित्र मानिस जीवित रहेको संकेत प्राप्त भएपछि नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले थप सावधानी अपनाउँदै उद्धार कार्यलाई तीव्र बनाएको छ। घटनास्थलमा आवश्यक प्राविधिक जनशक्ति र अत्याधुनिक उद्धार उपकरण परिचालन गरिएको छ।

सुरुङको जटिल संरचनाका बाबजुद उद्धारकर्मीले फसेका व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्न हरसम्भव प्रयास गरिरहेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.