मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा साउदी अरेबियाले नेपाल सामू जितको लागि १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९ दशमलव २ ओभरमा १ सय ९० रनमा अल आउट भयो ।
साउदीको लागि ओपनर अब्दुल वाहिदले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकीय पारी खेले भने मुहम्मद अतिफले ३० रन जोड्दा मोहम्मद हिशाम शेखले २८ रन बनए ।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिँदा शेर मल्ल र गुल्शन झाको भागमा समान एक-एक विकेट रह्यो ।
नेपाल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ । यसअघि नेपालले समूहमा बहराइन र मलेसियालाई पराजित गर्दै समूह ए को शीर्ष स्थानमा छ ।
आजको खेलमा जित निकालेनेपाल एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ । जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् ।
नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो ।
एसिसी प्रिमियर कपमा १० टिम सहभागी छन् । यसबाट उपाधि जित्ने टिमबाट एसिया कपमा छनोट हुनेछन् । एसिया कप २०२७ मा बंगलादेशमा हुँदैछ ।





प्रतिक्रिया राख्नुहोस्