अष्ट्रेलियामा आज जारी अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले न्युजिल्यान्ड ‘ए’ लाई २१२ रनको लक्ष्य दिएको छ ।
डार्विनस्थित रारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २११ रन बनायो ।
न्युजिल्यान्डविरुद्ध नेपालका लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रनको पारी खेले भने लोकेश बमले ६४ बलमा ४ छक्का र १ चौका प्रहार गर्दै ४७ रन बनाए ।
त्यस्तै कप्तान अनिलकुमार साहले २४ रन जोड्दा मयन यादव २० र विपिन खत्री १२ रन बनाउनु बाहेक बाँकी नेपाली ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
न्युजिल्यान्डका लागि बलिङतर्फ म्याथ्यू फिसरले सर्वाधिक ४ विकेट लिए । नेपाली टोली आज अन्तिम खेलमा न्युजिल्यान्ड ‘ए’ लाई हराएर अष्ट्रेलिया भ्रमणको सुखद अन्त्य गर्ने योजनामा छ ।
नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार पराजय व्यहोरेको थियो । नेपालले तास्मिनियाविरुद्ध २ विकेट तथा दक्षिण अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोरेको हो ।





प्रतिक्रिया राख्नुहोस्