स्वास्थ्य

भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

अस्पतालले आइतबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्यसम्बन्धी समस्या तथा आर्थिक भारसमेत व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो ।

अस्पतालका अनुसार यसबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नुका साथै उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्नेछ ।

निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा विवरणसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । प्रभावित परिवारले कसरी सेवा लिन सक्ने भन्ने विषयमा आवश्यक प्रक्रिया तय गरी जानकारी गराइने अस्पतालले जनाएको छ ।

बाढीपछि प्रभावित समुदायमा स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अस्पतालले आफ्नो क्षमताअनुसार प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन तथा सहकार्य गर्ने तयारीसमेत गरेको जनाएको छ ।

अस्पतालले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित समुदायको स्वास्थ्य, पुनःस्थापना तथा पुनःनिर्माणका लागि निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.