दशैँमा मासु खानु नेपालीको खानपान संस्कृतिको विशेषता हो। दसैँका बेला परिवार र आफन्तसँग बसेर विभिन्न परिकारको मासु खाने चलन छ।
तर, मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किएर गम्भीर दुर्घटना निम्तिन सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्। हड्डी अड्किएमा आफैँ निकाल्ने प्रयास गर्नुको सट्टा तत्काल चिकित्सकको सहायता लिएमा सम्भावित जोखिमबाट बच्न सकिने उनीहरूको भनाइ छ।
दशैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा जलन, एसिड रिफ्लक्स तथा खाना निल्न असहज हुने समस्या देखिन सक्छ।
विशेष गरी बढी चिल्लो र बोसोयुक्त मासु खाँदा केही व्यक्तिमा पेटको अम्ल घाँटीसम्म फर्किने समस्या बढ्न सक्ने वीर अस्पतालका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. विमलेशकुमार गुप्ताले बताउनुभयो।
उहाँका अनुसार एसिड रिफ्लक्स हुँदा घाँटी र छाती पोल्ने, घाँटीमा केही अड्किएजस्तो हुने तथा खसखस महसुस हुन सक्छ। त्यसैले दशैँमा स्वादका लागि आवश्यकताभन्दा बढी खानेभन्दा खानाको मात्रा र प्रकृतिमा ध्यान दिनु आवश्यक छ।
घाँटीमा जलन वा एसिड रिफ्लक्सको समस्या भएका व्यक्तिले चिल्लो तथा बोसोयुक्त मासु कम खानु र आफूलाई सहज हुने, पचाउन सजिलो खानेकुरा रोज्नु उपयुक्त हुन्छ। पर्याप्त पानी पिउनु पनि आवश्यक छ।
मासु खाँदा हड्डी वा मासुको टुक्रा घाँटीमा अड्किनु अर्को गम्भीर जोखिम हो। यस्तो अवस्थामा खाना निल्न गाह्रो हुने, घाँटी दुख्ने र थुक निल्नसमेत समस्या हुन सक्छ। अड्किएको वस्तुले श्वासनलीमा अवरोध गरेमा सास फेर्न कठिनाइ हुने र ज्यानै जोखिममा पर्न सक्ने डा. गुप्ताले बताउनुभयो।
हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्नुहोस्
घाँटीमा मासु वा हड्डी अड्किएको शङ्का लागेमा औँला घाँटीभित्र हालेर निकाल्ने प्रयास गर्नु हुँदैन। त्यस्तै, अड्किएको वस्तुलाई तल धकेल्ने उद्देश्यले भात, रोटी वा अन्य खानेकुरा जबर्जस्ती निल्नु पनि जोखिमपूर्ण हुन सक्छ। यस्तो प्रयासले घाँटीमा थप चोट पुर्याउन वा अड्किएको वस्तुको अवस्था झन् जटिल बनाउन सक्छ।
हड्डी अड्किएपछि निल्न गाह्रो हुने, थुकसमेत निल्न नसक्ने वा घाँटीमा लगातार दुखाइ हुने अवस्था देखिएमा तत्काल अस्पताल पुगेर चिकित्सकीय सहायता लिनुपर्छ। समयमै उपचार पाएमा सम्भावित जटिलता र जोखिम कम गर्न सकिन्छ।
घरमै निकाल्ने प्रयास गर्दा अवस्था झन् बिग्रन सक्ने भएकाले यसलाई सामान्य समस्या ठानेर बेवास्ता गर्न नहुने चिकित्सकको सुझाव छ।
यदि अड्किएको वस्तुका कारण सास फेर्न नसक्ने, बोल्न नसक्ने वा प्रभावकारी रूपमा खोक्न नसक्ने अवस्था आएमा त्यो श्वासनलीमा अवरोध भएको सङ्केत हुन सक्छ।
यस्तो अवस्थामा तत्काल आपत्कालीन सहायता लिनुपर्छ। सास फेर्न गम्भीर कठिनाइ भइरहेको व्यक्तिलाई सामान्य उपचारको प्रतीक्षा गराउनु हुँदैन।
दशैँमा मासु तथा अन्य परिकारको स्वाद लिँदा हतार नगरी बिस्तारै खाने, राम्रोसँग चपाउने र खानाको मात्रा मिलाउने बानीले जोखिम कम गर्न मद्दत गर्छ।
पर्वको रमाइलोमा खानपानको सावधानी नबिर्सनु र घाँटीमा हड्डी वा मासु अड्किएमा समयमै चिकित्सकको सहायता लिनु नै सम्भावित दुर्घटनाबाट बच्ने महत्वपूर्ण उपाय हो।




प्रतिक्रिया राख्नुहोस्