गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट बेपत्ता भएका व्यक्तिका आफन्तहरूले खोजी तथा उद्धार कार्यमा ढिलाइ भएको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
त्रिशूली–३ बी जलविद्युत् आयोजनाबाट बेपत्ता भएका आफन्तहरूको तस्बिरसहित प्लेकार्ड बोकेर उनीहरूले सरकारसँग खोजी तथा उद्धार कार्यलाई अझ प्रभावकारी, तीव्र र पारदर्शी बनाउन माग गरेका हुन्।
प्रदर्शनकारीहरूले बाढी आएको १३ दिन बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था, खोजी कहाँसम्म पुग्यो र सरकारले के प्रयास गरिरहेको छ भन्नेबारे स्पष्ट जानकारी नपाएको गुनासो गरेका छन्। लामो समयसम्म पनि बेपत्ताहरूको खोजी प्रभावकारी रूपमा अघि नबढ्दा आफूहरू थप पीडा र अन्योलमा परेको उनीहरूको भनाइ छ।
बेपत्ताका आफन्तहरूले खोजी तथा उद्धार कार्यलाई समयसँग प्रतिस्पर्धा गरेर अघि बढाउन, नियमित रूपमा आधिकारिक जानकारी सार्वजनिक गर्न तथा पीडित परिवारसँग प्रत्यक्ष समन्वय गर्न सरकारसँग माग गरेका छन्।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले रसुवाका सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, सडक, पुल र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
बाढीका कारण लाङटाङ, चिलिमे, अपर त्रिशूली–१, अपर त्रिशूली–३ ‘ए’, अपर त्रिशूली–३ ‘बी’ लगायतका आयोजनामा क्षति पुगेको छ भने कयौं जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ। प्रभावित आयोजनाहरूमा सुरुङ, बाँध, विद्युत्गृह तथा पहुँचमार्गमा व्यापक क्षति पुगेकाले पुनः सञ्चालनमा समय लाग्ने देखिएको छ।
सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भारत, चीन र गणतन्त्र कोरियासहित विभिन्न देशबाट आएका सुरुङ उद्धार तथा प्राविधिक टोली परिचालन गरी खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
अत्याधुनिक उपकरण, ड्रोन, मड पम्प, एक्स्काभेटर तथा अन्य विशेष प्रविधिको प्रयोग गरेर सुरुङभित्र र नदी आसपासको क्षेत्रमा खोजी भइरहेको छ।
सरकारको पछिल्लो विवरणअनुसार, हालसम्म एक हजार ३५५ जनाको मृत्यु, १३ हजार ३९६ को उद्धार गरिएको छ, जसमा ३०० भन्दा बढी विदेशी नागरिक रहेका छन्।
सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेको तथ्याङ्क छ । यसबीच बाढीमा फसेकाहरु मध्ये हालसम्म १३ हजार ३९६ जनाको उद्धार तथा ६ हजार ६७२ जना घाइतेको उपचार गरिएको छ ।
ती मध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकामा २२८ जना उपचारपछि फर्कनुभएको छ भने चार हजार ९९६ जना अझै पनि सम्पर्कविहीन हुनुहुन्छ ।





प्रतिक्रिया राख्नुहोस्